आज तोल ल्होसार, राष्ट्रपति-प्रधानमन्त्रीद्धारा शुभकामना

आज पुष ५ गते तोल ल्होसार मनाइदै छ । ३ वटा ल्होसारहरु मध्य यो प्राचिनतम ल्होसार हो । तोल ल्होसार नै अन्य ल्होसारहरुको उद्गम मानिन्छ र तोल ल्होसारको आफ्नै दर्शन र महत्व भएको पाइन्छ ।

तोलको अर्थ हो समय या समयको चक्र र चलायमानता हो ।

नेपालका हिमाली जिल्लाहरु डोल्पा, मुगु, मनाङ्ग, हुम्ला, जुम्ला, र तिब्बत तथा भुटानका वा भुटानी मूल भएर नेपालमा बसोबास गर्ने मानिसहरुले प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाको दिनमा रमाईलो गरि धुमधामका साथ मनाउने गर्दछन । सोनाम ल्होसार मनाए जसरी मनाइने यो चाडको दिन मात्र फरक हुने गर्दछ ।

दुईवटा शब्द लो’ ‘सार’ मिलेर बनेको ल्होसारको अर्थ भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप ‘लो’ को अर्थ बर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ ।

खासगरी यो चाड वा पर्व नयाँ बर्षको आगमनको लागि मनाउने गरिन्छ । ल्होसारलाई लोसार, ल्होछार पनि भन्ने गरेको पाइन्छ । मुख्यतया हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले मनाउने चाडपर्व हो ।

आजको दिन घर आगन लिपपोत गरी शुद्ध पारिन्छ र स्नान गरी पुजा गरिन्छ । लामा पुरोहितबाट वा घरको मुल व्यक्तिबाट पुजा आजा गराई गहुँको पिठो आकाशतर्फ उडाएर देवीदेवताको विजय र भुत प्रेतको पराजय होस् भनि प्रार्थना गरिन्छ ।

अनि अग्रज तथा मान्यजनबाट आशिर्वाद लिँदै फुरौला,बाबरी रोटी, कन्दमुल आदि ग्रहण गरिन्छ ।

मौसम अनि हिमाल दुबैको साथ रहोस्, सबैलाई सुख रहोस भनी राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गरेका छन् । यसैगरि प्रधानमन्त्री सुशिला काकीले पनि सबै नेपालीमा शान्तिका लागि तोल ल्होसारले योगदान गरोसभन्दै शुभकामना जनाएकी छिन् ।

सत्य र उज्यालोको पैरवी गर्दै आजको तोल ल्होसारमा सबैलाई शुभकामना ।