लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल लिमिटेडले विभिन्न जीवन बीमा योजनाअन्तर्गत लागू हुने नयाँ बोनस दर सार्वजनिक गरेको छ। नेपाल बीमा प्राधिकरणले मंसिर २८ गते स्वीकृति दिएपछि कम्पनीले उक्त बोनस दर सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार सावधिक जीवन बीमालेख योजनामा बीमितले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन्। जीवन आस्ता योजनामा ५ वर्षको अवधिमा प्रतिहजार ८५ रुपैयाँ र ३ वर्षको अवधिमा ८० रुपैयाँ बोनस तोकिएको छ।
बाल उन्नति योजनाअन्तर्गत १५ देखि २५ वर्षसम्मको अवधिमा प्रतिहजार ६० रुपैयाँ र ८ देखि १४ वर्षसम्मको अवधिमा ५५ रुपैयाँ बोनस दर कायम गरिएको छ। जीवन विद्या, जीवन साथी र जीवन श्री योजनामा प्रतिहजार ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ भने सर्वाधिक योजनामा ५० रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस दर रहेको छ।
जीवन आनन्द योजनामा १० देखि २५ वर्षसम्मको अवधि अनुसार प्रतिहजार ५१ रुपैयाँदेखि ५६ रुपैयाँसम्म बोनस पाइनेछ। बाल सर्वाधिक योजनामा १५ वर्षदेखि ३० वर्षभन्दा माथिको अवधिमा प्रतिहजार ५० रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दर लागू गरिएको छ।
धन वृष्टि योजनामा १५ वर्ष अवधिको लागि प्रतिहजार ५६ रुपैयाँ र १० वर्ष अवधिको लागि ५३ रुपैयाँ बोनस घोषणा गरिएको छ। धन फिर्ता योजनामा ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दर तोकिएको छ। बाल ममता, बाल स्नेह र जीवन तरङ्ग योजनाअन्तर्गत प्रतिहजार ५० रुपैयाँदेखि ५७ रुपैयाँसम्म बोनस उपलब्ध हुनेछ।
लघु सावधिक योजनामा सबैका लागि समान रूपमा प्रतिहजार ४१ रुपैयाँ बोनस दर कायम गरिएको छ। जीवन बचत योजनामा ५ वर्षदेखि २५ वर्षसम्मको अवधिअनुसार प्रतिहजार ४१ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस प्रदान गरिनेछ। जीवन लाभ योजनामा १० देखि २५ वर्षसम्मको अवधिमा ५१ रुपैयाँदेखि ५७ रुपैयाँसम्म बोनस तोकिएको छ।
त्यस्तै, बाल समृद्धि र जीवन उत्सव योजनाअन्तर्गत १० देखि ३५ वर्षसम्मको अवधिमा प्रतिहजार ५० रुपैयाँदेखि ५६ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरिएको छ।
कम्पनीले हरेक वर्ष बीमांकी मूल्यांकन (एक्चुरियल भ्यालुएशन) पश्चात् बोनस दर घोषणा गर्दै आएको जनाएको छ। नयाँ बोनस दर घोषणा नहुन्जेलसम्म बीमितले पछिल्लो पटक घोषित बोनस दरकै आधारमा समर्पण मूल्य, बीमालेख धितो कर्जा, अग्रिम दाबी भुक्तानी, जीवित लाभ (सर्भाइभल बेनिफिट), मृत्यु दाबी तथा परिपक्व दाबी भुक्तानी प्राप्त गर्ने कम्पनीले स्पष्ट पारेको छ।
