मोटरसाइकल दुर्घटना-राष्ट्रिय क्रिकेट खेलाडी मिनेष थापाको मृत्यु

विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा राष्ट्रिय क्रिकेट खेलाडी मिनेष थापाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–५ निवासी २७ वर्षीय थापाको बिहीबार बिहान करिब १२ स्५९ बजेतिर भएको दुर्घटनामा मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता, डीएसपी कोपिला चुडालका अनुसार विराटनगर–४ स्थित भित्री सडक खण्डमा एयरपोर्ट लाइनबाट बरगाछीतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा उनी घाइते भएका थिए ।

डीएसपी चुडालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । प्रहरीको प्रारम्भिक अनुमान अनुसार मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने देखिएको छ ।

मृतक थापा ९ वर्षभन्दा लामो समयदेखि कोशी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरको क्रिकेटमा सक्रिय थिए । कुशल ब्याट्सम्यानका रूपमा चिनिएका उनले नेपालका केही चर्चित फ्रेन्चाइज लिगमा समेत सहभागिता जनाइसकेका थिए ।

प्रहरीले घटनाको थप अनुसन्धान शुरू गरेको जनाएको छ । थापाको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।

 

 

 

लोकान्तरबाट साभार