हात्तीको आक्रमणबाट सप्तरीमा किसानको मृत्यु

सप्तरीमा आज शनिबार जङ्गली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ ।

आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२ धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार घरदेखि पाँच सय मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको दाह्रा उनको शरीरमा गाडिएको स्थानीयले देखेका थिए ।

बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने र कहिलेकाही खेतमा बनाएको टौवा (छाप्रो) मा नै सुत्ने गरेकामा हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।