वीरगन्जमा डिजिटल वित्तीय सचेतना विस्तार

डिप्रोक्स लघुवित्त वित्तीय संस्था र ईसेवाको संयुक्त आयोजनामा वित्तीय तथा डिजिटल साक्षरता र ईसेवा मार्फत इएमआई भुक्तानीसम्बन्धी एक दिने तालिम कार्यक्रम सम्पन्न भएको छ। पर्सा जिल्लाको वीरगन्जमा आयोजित उक्त तालिममा डिप्रोक्स लघुवित्तका १०० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको थियो।

तालिमको मुख्य उद्देश्य सदस्यहरूमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु, सुरक्षित र भरपर्दो डिजिटल कारोबारको प्रवर्द्धन गर्नु तथा ईसेवामार्फत सहज र सरल रूपमा इएमआई भुक्तानी गर्न प्रोत्साहित गर्नु रहेको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा समयमै इएमआई भुक्तानी गर्ने बानीको विकास, डिजिटल वित्तीय सेवाको प्रयोगमार्फत वित्तीय अनुशासन सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको डिप्रोक्स लघुवित्तले स्पष्ट पारेको छ।

तालिमका क्रममा सहभागी सदस्यहरूलाई डिजिटल भुक्तानी प्रणालीको प्रयोग विधि, अनलाइन कारोबार गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानी तथा प्रभावकारी वित्तीय व्यवस्थापनसम्बन्धी व्यवहारिक जानकारी प्रदान गरिएको थियो। सहभागीहरूले प्राप्त ज्ञानले आफ्नो वित्तीय व्यवस्थापनमा सकारात्मक सोच विकास भएको बताउँदै आगामी दिनमा डिजिटल वित्तीय सेवाको प्रयोगलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।