शेयर बजारमा हरियो संकेत : नेप्से करिब २९ अंकले उकालो

शेयरबजारमा आज सोमबार करिब २९ अर्थात २८.७३ अंकको सुधार देखिएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले बढेर २६३९.३७ विन्दुमा चढेको हो।

यस दिन ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ। १ करोड २४ लाख कित्ता बिक्रीमा यो परिमाणको कारोबार भएको हो। योसँगै २१४ वटा शेयरको मूल्य बढेको छ, त्यस्तै ३७ वटाको घटेको र ८ वटाको आइतबारकै मूल्यमा किनबेच भएको छ।

आज सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार र रुरु जलविद्युतको सेयरमा सकारात्मक सर्किट लागेको छ। योसँगै यी कम्पनीका लगानीकर्ताले क्रमशः १८३.३०, ११२.१०, ९३.९०, ८१.७० र ६७ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।

आज घटेका सेयरमा अधिकतम २.४९ प्रतिशतसम्म मात्रै गिरावट देखिएको छ।

कारोबारमा भने आज शिवम् सिमेन्ट अगाडि छ। कम्पनीको ३८ करोडको कारोबार भएको हो। यसबाहेक बन्दीपुर केबलकार २० करोड, एसवाई प्यानल १७ करोड, श्रीनगर एग्रिटेक १६ करोड र सागर डिस्टिलरीको १५ करोडको खरिदबिक्री भएको छ।

आज उत्पादन तथा प्रशोधनसहित विकास बैंक र होटल तथा पर्यटन सूचक ३ प्रतिशतसम्मले बढेका छन्। बाँकी उपसूचक पनि बढेका छन्।

मुलुकको राजनीतिक अवस्थाले पनि शेयर बजारमा उतार चढाव देखिने अर्थ जानकारहरु बताउँछन् ।