बैंक तथा वित्तीय संस्थाहरूबाट सेवा क्षेत्रमा प्रवाह हुने कर्जा आर्थिक वर्ष २०८१/८२ मा ६.६ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक आर्थिक गतिविधि अध्ययनले यो तथ्यांक प्रस्तुत गरेको हो। अघिल्लो आर्थिक वर्षमा सेवा क्षेत्रमा कर्जा ३.५ प्रतिशतले मात्र बढेको थियो।
असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले सेवा क्षेत्रमा गरेको कुल लगानी २१ खर्ब ८४ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा कुल कर्जामध्ये ३९.१ प्रतिशत रहेको छ।
उपक्षेत्र अनुसार सर्वाधिक कर्जा थोक तथा खुद्रा विक्रेता क्षेत्रमा ४७.३ प्रतिशत, रियल स्टेटमा १२.२ प्रतिशत, पर्यटनमा ११.८ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पत्तिमा ११.३ प्रतिशत, शिक्षा क्षेत्रमा ६.६ प्रतिशत, यातायात, भण्डारण र सञ्चारमा ३.७ प्रतिशत, अन्य सेवा उपक्षेत्रमा ३.७ प्रतिशत र स्वास्थ्य र अन्य सामाजिक कार्यमा ३.३ प्रतिशत रहेको छ।
प्रदेश अनुसार बागमतीमा सेवा क्षेत्रमा सबैभन्दा बढी ५९.५ प्रतिशत कर्जा प्रवाहित भएको छ, जसको मूल्य १२ खर्ब ९९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। लुम्बिनीमा १०.३ प्रतिशत (२ खर्ब २३ अर्ब ९५ करोड २३ लाख), कोशीमा १०.१ प्रतिशत (२ खर्ब २१ अर्ब ४६ करोड), मधेशमा ९ प्रतिशत (१ खर्ब ९६ अर्ब ७६ करोड ७० लाख), गण्डकीमा १ खर्ब ५१ अर्ब ५९ करोड, सुदूरपश्चिममा ६६ अर्ब ५० करोड र कर्णालीमा सबैभन्दा कम २४ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।
यसैगरी, असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा संकलित कुल निक्षेप ७२ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये बागमती प्रदेशबाट ४७ खर्ब ९७ अर्ब रुपैयाँ संकलन भएको छ, जुन कुल निक्षेपको ६५.८ प्रतिशत हो। गण्डकी प्रदेशबाट ६ खर्ब १२ अर्ब, कोशी प्रदेशबाट ५ खर्ब ५३ अर्ब, मधेसबाट ४ खर्ब ७ अर्ब, सुदूरपश्चिमबाट १ खर्ब ७३ अर्ब र कर्णालीबाट ९१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको राष्ट्र बैंकले जनाएको छ।
