कृषि विकास बैंक लिमिटेडको ५९औँ वार्षिक उत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितीले आज मुख्य कार्यालय परिसरमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। मानवीय सेवाको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रममा मुख्य कार्यालय समिती अन्तर्गत कुल १२१ युनिट रगत संकलन गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा संकलित रगत देशभरका विभिन्न अस्पताल तथा रगतको अभावमा रहेका बिरामीहरूको उपचारमा प्रयोग गरिने जनाइएको छ। कर्मचारी संघका अनुसार रगतको अभावका कारण हुने मानव जीवनको क्षतिलाई न्यूनीकरण गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य हो।
कृषि विकास बैंक कर्मचारी संघ नेपालका मुख्य कार्यालय समितीका अध्यक्ष सुरेश कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंक, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपाल (विफु नेपाल) का अध्यक्ष धर्मराज मैनाली प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै कृषि विकास बैंक कर्मचारी संघ नेपालका अध्यक्ष छगेन्द्र आचार्य, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारी, ग्राहक तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि धर्मराज मैनालीले रक्तदानजस्तो मानवीय कार्यमा कर्मचारी र संस्थाको सक्रिय सहभागिताको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिन आग्रह गरे।
कर्मचारी संघ नेपालका अध्यक्ष छगेन्द्र आचार्यले अस्पतालका शैयामा रगत अभावमा पीडित बिरामीहरूका लागि यस्तो कार्यक्रम जीवनदायी हुने उल्लेख गर्दै ट्रेड युनियनद्वारा सञ्चालित सामाजिक गतिविधिले समाजमा बैंक र कर्मचारी संघको गरिमा अझ उचो बनाएको बताए।
