माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका गल्ली र चोकहरूमा तरुलको व्यापार तीव्र रूपमा बढेको छ। माघी पर्वमा विशेषगरी तरुल र चाकु खाने परम्परा भएकाले व्यापारीहरूले माघीलाई लक्षित गर्दै विभिन्न प्रकारका तरुल बिक्रीमा ल्याएका छन्।
काठमाडौका तरकारी बजारहरूमा घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पाताले तरुल, आकाशे तरुल, नेपाली तरुल र रातो तरुल जस्ता थरीका तरुल उपलब्ध छन्। व्यापारीहरूले धादिङ, नुवाकोट, सिन्धुपाल्चोक लगायतका पहाडी जिल्ला र केही तराई क्षेत्रबाट तरुल ल्याइरहेको बताएका छन्।
माघे संक्रान्तिमा चाकु, पिँडालु र सखरखण्ड समेत खाइने चलन रहेकाले तरुलसँगै यी परिकारको पनि व्यापार बढिरहेको छ। व्यापारीहरूले पर्वको अवसरमा ग्राहकहरूलाई गुणस्तरीय तरुल र मिष्ठान्न सामग्री उपलब्ध गराउँदै पर्वको रौनक बढाउने लक्ष्य राखेका छन्।

