नेशनल ट्रान्सफर एकाउण्ट: २७–४६ वर्ष उमेर समूहमा आर्थिक बचत, वृद्ध र युवामा घाटा

राष्ट्रिय तथ्यांक कार्यालयले नेशनल ट्रान्सफर एकाउण्ट (NTA) प्रतिवेदन २०७८/७९ सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक प्रतिवेदनले २७ देखि ४६ वर्षका व्यक्तिहरूमा आर्थिक बचत हुने देखाएको छ भने युवा र वृद्ध उमेर समूहमा जीवनचक्र घाटा उच्च रहेको तथ्य प्रष्ट पारेको छ।

प्रतिवेदन अनुसार, अधिकतम प्रतिव्यक्ति घाटा ८७ वर्षको उमेरमा देखिएको छ। यसले श्रम आम्दानी र उपभोगबीचको ठूलो असन्तुलन उजागर गरेको छ। तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डिराज लामिछानेका अनुसार, यस सूचनाले मानव पुँजी निर्माणमा सरकारी प्रयासको दायरा विस्तार गर्न मार्गदर्शन गर्नेछ।

लामिछानेले बताए अनुसार, काम गर्ने उमेर समूहको श्रम बजार सहभागिता बढाउन, सीप विकास प्रवर्द्धन गर्न र सामाजिक सुरक्षा प्रणाली सुधार गर्न नेशनल ट्रान्सफर एकाउण्टले स्पष्ट दिशानिर्देश प्रदान गर्नेछ। यसबाट अन्तरपीढी आर्थिक स्थायित्व सुनिश्चित गर्ने आधार तयार गर्न सकिनेछ।

प्रतिवेदनले आगामी दिनमा संपत्ति आधारित पुनर्वितरण र हस्तान्तरणसहितको आर्थिक प्रवाहको समग्र चित्र तयार गर्न आवश्यक रहेको उल्लेख गरेको छ। यसका लागि श्रम तथ्यांक र उपभोग खर्च सर्वेक्षण नियमित सञ्चालन गर्नुपर्ने सिफारिस गरिएको छ। साथै, नेशनल ट्रान्सफर एकाउण्टलाई खण्डिकृत विश्लेषणमार्फत लैङ्गिक र सामाजिक सवालमा प्राज्ञिक पृष्ठपोषण उपलब्ध गराउन सकिने निष्कर्ष प्रतिवेदनमा प्रस्तुत गरिएको छ।