निगालो होटल सार्वजनिक सेयरतर्फ, नयाँ ऊर्जा थपियो

निगालो होटल लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाउन विक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धमा आयोजित औपचारिक कार्यक्रममा निगालो होटल लिमिटेडका अध्यक्ष टिका राज बराल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा चार्टर्ड अकाउन्टेन्ट अनिल पौडेलको समेत उपस्थिति रहेको थियो।

नगरकोटमा अवस्थित परम्परागत तथा सांस्कृतिक शैली झल्कने चारतारे निगालो होटलले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ।

कम्पनीका अनुसार होटलले परम्परागत हेरिटेज अनुभव र आधुनिक आतिथ्य सेवाको संयोजनमार्फत फरक पहिचान बनाउने लक्ष्य लिएको छ। होटल परिसरमा निर्माण गरिएको विशेष भ्यू टावरबाट हिमालसँगै काठमाडौं, भक्तपुर र ललितपुर उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने सुविधाले यस परियोजनालाई विशिष्ट बनाउने अपेक्षा गरिएको छ। यसले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

सञ्चालनको अन्तिम चरणमा रहेको होटलमा ६८ वटा प्रिमियम कोठा (सुइट सहित), तीनवटा बैंक्वेट हल, तीनवटा रेस्टुरेन्ट, बार, स्विमिङ पुल, स्पा, जिम, ध्यान कक्ष, कफी शप, म्युजिक क्लबलगायत विभिन्न विश्वस्तरीय सुविधा रहनेछन्। दीर्घकालीन रणनीतिअन्तर्गत उक्त क्षेत्रकै पहिलो क्यासिनो सञ्चालन गर्ने योजना पनि समावेश गरिएको छ।

होटलले सेयर निष्काशनपछि पोखरा, काठमाडौं र चितवनजस्ता प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने दीर्घकालीन योजना अघि सारेको अध्यक्ष बरालले जानकारी दिए। कम्पनीका संस्थापक तथा प्रवर्द्धक समूहमा पर्यटन, जलविद्युत्, बैंकिङ र शिक्षा क्षेत्रमा लामो अनुभव भएका व्यवसायीहरूको संलग्नता रहेको छ। होटल सञ्चालन २५ वर्षभन्दा बढी अनुभव भएका व्यवस्थापकहरूको नेतृत्वमा गरिने कम्पनीको भनाइ छ।

करिब १ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो होटल आगामी चार महिनाभित्र सञ्चालनमा आउनेछ। साथै, भारतीय तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी रणनीतिक रूपमा होटल सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको पनि कम्पनीले जनाएको छ।