चीनको दक्षिण पश्चिममा रहेको चोङछिङ महानगरका पूर्वमेयर ह्वाङ छिफानमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान थालिएको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन निरीक्षण आयोगले ७४ वर्षीय ह्वाङमाथि अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको आरोपमा अनुसन्धान अघि बढाएको हो ।
ह्वाङ सन् २०१० देखि २०१६ सम्म चोङछिङका मेयर थिए । उनको कार्यकालमा उक्त महानगरले तीव्र आर्थिक विकास गरेको बताइन्छ । चोङछिङमा राजनीतिक तथा भ्रष्टाचारसम्बन्धी प्रकरणका कारण उनका पूर्ववर्ती उच्च अधिकारी बो सिलाई र सुन झेङछाई राजनीतिक रूपमा पतन भइसकेका छन् ।
ती प्रकरणबीच पनि ह्वाङ आफ्नो राजनीतिक भूमिका कायम राख्न सफल भएका थिए । अहिले उनीमाथि भ्रष्टाचारको अनुसन्धान सुरु भएको खबर चिनियाँ सरकारी सञ्चारमाध्यमबाटै सार्वजनिक भइसकेको छ ।
चीनमा पछिल्लो एक दशकदेखि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लागु भएपछि यस्ता कण्डमा संलग्न नेताहरुको हर्कत बाहिरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
