काठमाडौँमा हवाई फायरसँगै खैरो हेरोइन सहित युवक पक्राउ

प्रहरीले ‘हवाई फायर’ गरेर खैरो हेरोइनसहित तारकेश्वरबाट एक जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले वीरगञ्ज महानगरपालिका–३१ बेगनाका ४१ वर्षीय बासुदिन मियाँलाई पक्राउ गरेको हो।

ब्यूरोका सहप्रवक्ता जीवन निरौलाका अनुसार मियाँ रक्सोल नाका हुँदै काठमाडौँ उपत्यकामा लागूऔषध आपूर्ति गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई काठमाडौँको तारकेश्वर नगरपालिका–४ बाट प्रहरीले हिजो मंगलबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–४ मा शङ्कास्पद अवस्थामा भेटिएका मियाँलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण गरेर उनी भाग्न खोजेका थिए। त्यस क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनलाई नियन्त्रणमा लिएको सहप्रवक्ता निरौलाले जानकारी दिए।

प्रहरीले मियाँका साथबाट ३०० ग्राम खैरो हेरोइन र एक थान मोबाइल फोन बरामद गरेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उनले विगत तीन महिनादेखि प्रतिपटक २०० ग्रामका दरले पाँच पटकसम्म काठमाडौँ उपत्यकामा खैरो हेरोइन आपूर्ति गरेका थिए।

मियाँमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।

लागू औषध नियन्त्रण ऐन अनुसार मियालाई १५ वर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको निरौलाले जानकारी दिए।