नेपालमा गुणस्तरीय शिक्षा र पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ निजी तथा आवासीय विद्यालयहरूको संस्था प्याब्सन (PABSON) र अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डिया (OUP) बीच सहकार्य सम्झौता (MoU) सम्पन्न भएको छ। यस सहकार्यले विद्यालय तहमा विश्वस्तरीय पठन सामग्रीको पहुँच विस्तार गर्दै शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
सम्झौताअनुसार ‘Read with Oxford’ कार्यक्रममार्फत पुस्तक, विविध पठन सामग्री र क्षमता अभिवृद्धिका तालिम कार्यक्रमहरू सञ्चालन गरिनेछ। यस कार्यक्रमले शिक्षक प्रशिक्षण, विद्यालय नेतृत्व विकास, पठनमैत्री वातावरण निर्माण तथा सिकाइ केन्द्र स्थापना जस्ता पहलहरूलाई प्राथमिकतामा राख्नेछ।
प्याब्सन र ओयूपी दुवैले यस सहकार्यबाट विद्यार्थीमा आलोचनात्मक सोच, सृजनशीलता र आजीवन सिकाइको संस्कार विकास हुने विश्वास व्यक्त गरेका छन्। साथै शिक्षक र विद्यालय नेतृत्वको व्यावसायिक क्षमता अभिवृद्धि हुँदै नेपाली शिक्षा प्रणालीमा दीर्घकालीन तथा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
