ग्लोबल आइएमई बैंकले १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रम बैंकले घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रममध्ये एक अन्तर्गत सञ्चालन गरिएको हो।

बैंकले पौष १८ गते आफ्नो स्थापनाको १९ वर्ष पूरा गर्दै २०औँ वर्षमा प्रवेश गरेको अवसरमा मुलुकका सातै प्रदेशका प्रमुख शाखाहरूमा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रम अन्तर्गत कोशी प्रदेशको तीनपैनी, मधेश प्रदेशको बर्दिवास, बाग्मती प्रदेशको कान्तिपथ र नारायणगढ, गण्डकी प्रदेशको पोखरा न्युरोड, लुम्बिनी प्रदेशको चौराहा बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान गरिएको थियो।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ५५८ रक्तदाताहरूले रक्तदान गरेका छन्। संकलित रक्त गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखी वितरण गरिने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारका विभिन्न सामाजिक कार्यहरू निरन्तर गर्दै आएको छ। बैंकलाई बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर लगायतका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित अवार्ड प्राप्त भइसकेका छन्।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकसँग ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्। बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै नेपालमा आर्थिक समृद्धिमा योगदान गर्दै आएको छ।