पोखरामा करदातालाई राहत, कर छुट चैत मसान्तसम्म

पोखरा महानगरपालिकाले करदातालाई थप राहत दिने निर्णय गर्दै कर छुटको समयावधि आगामी चैत मसान्तसम्म विस्तार गरेको छ। महानगरको १८औँ नगरसभाले पुस मसान्तसम्म तोकिएको कर छुटको म्याद राजस्व सङ्कलन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण चैत मसान्तसम्म बढाउने निर्णय गरेको हो।

चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने व्यवस्था आर्थिक ऐनमा भए पनि राजस्व सङ्कलन प्रणालीमा समस्या आएपछि कर तिर्न आएका सर्वसाधारण सेवाग्राही फर्किनुपर्ने अवस्था सिर्जना भएको थियो। यसले सेवाग्राही मर्कामा पर्न सक्ने देखिएपछि नगरसभाले समयावधि थप्ने निर्णय गरेको हो।

महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार सेवाग्राहीले चाहेर पनि प्रणालीको समस्याका कारण कर तिर्न नसक्ने अवस्था बनेको थियो। “करदाताको गल्ती नभई प्रणालीगत समस्याका कारण छुटबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कर छुटको समय चैत मसान्तसम्म बढाइएको हो,” उनले बताए।

यसअघि पनि प्रणालीमा देखिएको समस्याका कारण सेवाग्राही प्रभावित भएको भन्दै वडा नं. १३ का वडाध्यक्ष किरण बरालले कर छुटको समयावधि बढाउन महानगरको ध्यानाकर्षण गराएका थिए। सोही पहल र सेवाग्राहीको असुविधालाई मध्यनजर गर्दै नगरसभाले सकारात्मक निर्णय गरेको जनाइएको छ।