सिन्धुपाल्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट माधव सापकोटा ‘सुबोध’ लाई प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेद्वार चयन गरेको छ। पार्टीले दिएको जिम्मेवारी स्वीकार गर्दै सापकोटाले अघिल्लो कार्यकालमा अधुरा रहन पुगेका जनमुखी योजना, कानुन निर्माण तथा विकासका कामलाई पूरा गर्ने दृढ संकल्पसहित पुनः चुनावी मैदानमा उत्रिएको बताएका छन्।

उनले पाँच वर्षे योजना र कार्यतालिकासहित जनताको सेवामा जुट्दै गर्दा अघिल्लो प्रतिनिधिसभाको कार्यकाल ३३ महिनामै अन्त्य हुन पुगेकाले धेरै महत्वपूर्ण काम अधुरै रहन गएको उल्लेख गरेका छन्। ती अपूरा कामलाई पूर्णता दिने लक्ष्यका साथ पार्टीले दिएको टिकटलाई सिन्धुपाल्चोक-१ का मतदाताप्रति पूर्ण विश्वास र आत्मविश्वासका साथ स्वीकार गरिएको बताएका छन्।
अघिल्लो कार्यकालमा सांसदका रूपमा सापकोटाले सिन्धुपाल्चोकका जनताका मुद्दालाई संसदमा निरन्तर, तथ्यगत र प्रभावकारी रूपमा उठाउँदै आएका थिए । भूकम्पपछिको पुनर्निर्माण, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा युवासम्बन्धी विषयमा उनले सदनमा सशक्त आवाज उठाएको भन्दै उनलाई जनताको समस्या बुझ्ने र समाधान खोज्ने सांसदका रूपमा लिइन्छ।
लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहँदै तोकिएको समयमै मनोनयन दर्ता गराई निर्वाचनमा सहभागी हुने जानकारी दिँदै सापकोटाले पार्टी नेतृत्व, सहयोद्धा कमरेडहरू, आम नागरिक तथा विशेषगरी युवापंक्तिले देखाएको भरोसा र समर्थनप्रति आभार व्यक्त गरेका छन्। जनताले दिएको विश्वास कहिल्यै डगमगाउन नदिने र जनअपेक्षालाई आफ्नो राजनीतिक यात्राको मुख्य आधार बनाउने उनको प्रतिबद्धता रहेको छ।
युवा कम्युनिस्ट नेताका रूपमा परिचित माधव सापकोटा ‘सुबोध’ आज सिन्धुपाल्चोक-१ मात्र होइन, देशभर परिवर्तन चाहने युवापुस्ताको आशाको केन्द्र बनेको स्थानीय नेताहरूको भनाइ छ। समावेशी विकास, सुशासन र सामाजिक न्यायका सवालमा स्पष्ट धारणा राख्दै आएका सापकोटाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को जनमुखी विचारधारालाई व्यवहारमा उतार्दै क्षेत्रको समग्र विकासमा अग्रसर रहने बताएका छन्।
जनताको संघर्ष, त्याग र बलिदानबाट स्थापित कम्युनिस्ट आन्दोलनको मूल्य-मान्यताबाट प्रेरित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) समानता, सामाजिक न्याय र समृद्ध रास्ट्र निर्माणलाई आफ्नो मुख्य लक्ष्य बनाउँदै अघि बढिरहेको छ। सोही विचारधाराको प्रतिनिधित्व गर्दै माधव सापकोटा ‘सुबोध’ ले सिन्धुपाल्चोक-१ का जनताको जीवनस्तर उकास्न इमानदार र प्रतिबद्ध प्रयास गर्ने बताएका छन्। २०७९ को प्रतिनिधिसभा निर्बाचनमा नेकपा माओबादीबाट उल्लेख्य मत पाएर सापकोटा बिजयी भएका थिए