चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा कामना सेवा विकास बैंकले उत्साहजनक वित्तीय प्रगति गरेको छ। बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २२.३४ प्रतिशतले वृद्धि भई ३९ करोड ४५ लाख रुपैयाँ पुगेको छ।
बैंकले सार्वजनिक गरेको साउन–पुससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार, अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस वर्ष नाफामा देखिएको उल्लेखनीय वृद्धिले बैंकको समग्र वित्तीय अवस्था थप सुदृढ हुँदै गएको संकेत गर्छ।
चालु वर्षको पहिलो ६ महिनामा बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ११.१८ प्रतिशतले बढेर १ अर्ब २१ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ रहेको थियो।
यस्तै, बैंकको सञ्चालन मुनाफा पनि उल्लेखनीय रूपमा बढेको छ। दोस्रो त्रैमाससम्म सञ्चालन मुनाफा २०.९१ प्रतिशतले वृद्धि भई ५६ करोड ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४६ करोड ९१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।
पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २९ करोड ५७ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको १८.३७ रुपैयाँबाट बढेर २०.४३ रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको पीई रेसियो २२.१७ गुणा र प्रतिशेयर नेटवर्थ १५८.०७ रुपैयाँ कायम भएको छ।
३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ चुक्तापुँजी रहेको कामना सेवा विकास बैंकको रिटेन्ड अर्निङ २९ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ संचित छ।
व्यवसायिक विस्तारतर्फ पनि बैंकले सकारात्मक प्रगति गरेको देखिन्छ। पुससम्म बैंकले ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
