डिजिटल कारोबारलाई प्रोत्साहन गर्न नेपाल बैंक–खल्ती संयुक्त अभियान

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ कारोबार प्रवर्द्धन गर्ने उद्देश्यसहित खल्ती वाई आईएमईसँग सहकार्य गरी विशेष अभियान सञ्चालनमा ल्याएको छ। “लिङ्क गर्नुहोस्, लोड गर्नुहोस् र निकाल्नुहोस्– खल्ती मार्फत पुरस्कार जित्नुहोस्” नामक यो अभियान माघ र फागुन महिनाभर लागू हुनेछ।

बैंकका अनुसार अभियान नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरिएको हो। अभियान अवधिभर नेपाल बैंकको खाता खल्ती वालेटमा लिङ्क गरी कारोबार गर्ने ग्राहक तथा कर्मचारीहरूमध्ये हरेक हप्ता दुई जनालाई मुभी टिकट वा खल्ती प्रो सब्स्क्रिप्सन पुरस्कार प्रदान गरिनेछ। साथै, अभियान अवधिभरको कुल कारोबारको आधारमा दुई जनालाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ। उक्त पुरस्कारको घोषणा अभियान समाप्त भएपछि गरिनेछ।

अभियानमा सहभागी हुन खल्ती वालेटमा दर्ता भई केवाईसी अद्यावधिक गरिएको हुनुपर्ने, नेपाल बैंकको खाता खल्ती वालेटमा लिङ्क गरिएको हुनुपर्ने तथा लिङ्क गरिएको खातामार्फत कारोबार भएको हुनुपर्ने शर्त राखिएको छ।

यस सम्बन्धमा थप जानकारी लिन नजिकको नेपाल बैंकको शाखा कार्यालय वा बैंकको कल सेन्टर फोन नम्बर ०१–५९७१२२२ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ। यस अभियानले ग्राहकहरूलाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ।

हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २३७ एटिएम तथा ६१ वटा एक्स्टेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले ग्राहक सेवामा निरन्तर सुधार गर्दै आधुनिक बैंकिङ प्रविधिमार्फत प्रतिस्पर्धी बैंकका रूपमा आफ्नो उपस्थिति मजबुत बनाउँदै आएको जनाएको छ।