होटल फरेष्ट इनको आईपीओ आज अन्तिम अवसर

काठमाडाैं । होटल फरेष्ट इन लिमिटेडले निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज माघ २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ २२ गतेदेखि खुला गरेको आईपीओमा आज बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्काशन गरेको हो।

होटल फरेष्ट इनले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबर हुने ४० करोड रुपैयाँ मूल्यको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, २ लाख कित्ता सामूहिक लगानी कोषका लागि तथा ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएर बाँडफाँट भइसकेको छ।

अब कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आज अन्तिम दिन भएकाले आईपीओमा सहभागी हुन इच्छुक लगानीकर्ताहरूलाई समयमै आवेदन दिन आग्रह गरिएको छ।