खर्च नियन्त्रणको बलमा शिवम सिमेन्टको नाफा उछाल

  • Clock icon
    २०८२ फाल्गुन १, शुक्रबार

काठमाडौं । शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा उल्लेख्य नाफा वृद्धि गरेको छ। निर्माण क्षेत्रमा देखिएको सुस्तताका बाबजुद कम्पनीले उत्पादन लागत र अन्य खर्चमा गरेको कडाइका कारण नाफा ५२८.५२ प्रतिशतले बढेर ३५ करोड ७० लाख रुपैयाँ पुगेको हो।

कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म यस्तो नाफा आर्जन भएको हो। गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो।

यस अवधिमा सिमेन्ट बिक्रीबाट हुने मुख्य व्यावसायिक आम्दानीमा भने सामान्य गिरावट देखिएको छ। गत वर्ष पुस मसान्तसम्म ३ अर्ब १० करोड १६ लाख रुपैयाँ रहेको बिक्री आम्दानी यस वर्ष ०.११ प्रतिशत घटेर ३ अर्ब ९ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ।

तर, वस्तु उत्पादन तथा बिक्री लागतमा आएको ९.५४ प्रतिशतको कमीले कम्पनीको नाफालाई बलियो बनाएको छ। अघिल्लो वर्ष २ अर्ब ७० करोड १५ लाख रुपैयाँ रहेको लागत यस वर्ष २ अर्ब ४४ करोड ३७ लाख रुपैयाँमा झरेपछि कम्पनीको कुल नाफा ६५ करोड ४४ लाख रुपैयाँ पुगेको छ, जुन वार्षिक आधारमा ६३.५० प्रतिशतले बढी हो।

प्रतिवेदनअनुसार कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (EPS) १२.७७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८०.३८ रुपैयाँ कायम भएको छ। समीक्षा अवधिसम्म कम्पनीको चुक्ता पुँजी ५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ।

बजारमा सिमेन्टको माग कमजोर रहनु तथा विद्युत महसुलसम्बन्धी कानुनी विवादलाई कम्पनीले चुनौतीका रूपमा लिएको भए पनि, प्रभावकारी खर्च व्यवस्थापनका कारण यो त्रैमास लगानीकर्ताहरूका लागि सकारात्मक देखिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन १, शुक्रबार