आयुर्वेद उपचारमा उल्लेख्य सुधार, आयुर्वेद चिकित्सालय रामेछापको ७० प्रतिशत प्रगति

रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको पहिलो वर्षमै ७० प्रतिशत प्रगति हासिल गरेको छ ।

स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेशबाट खटिएको अनुगमन टोलीले गरेको मूल्याङ्कनका आधारमा चिकित्सालयले उक्त उपलब्धि हासिल गरेको हो ।

अनुगमन टोलीमा स्रोत व्यक्ति डा. कोपिला अधिकारी, निर्देशनालयका मेडिकल अधिकृत डा. माधव पौडेल, न्यूनतम सेवा मापदण्ड फोकल पर्सन सुशील आचार्य तथा कविराज निरीक्षक विनोदकुमार साहलगायत सहभागी थिए ।

टोलीले निर्देशनालयले तयार पारेका सूचकका आधारमा सेवा प्रवाह, व्यवस्थापन, सुशासन, औषधि भण्डारण, अभिलेखीकरण तथा कार्यक्रम सञ्चालनको समग्र मूल्याङ्कन गरेको जनाएको छ ।

चिकित्सालयले चालु आर्थिक वर्षदेखि मन्थली अस्पतालको पुरानो भवनबाट सेवा सञ्चालन गर्दै आएको छ । पूर्वाधार तथा कार्यालय व्यवस्थापनका केही काम बाँकी रहेकै अवस्थामा पनि पहिलो वर्षमै ७० प्रतिशत प्रगति हासिल गर्नु सकारात्मक उपलब्धि भएको निमित्त प्रमुख दीपक कार्कीले बताए । मूल्याङ्कनका क्रममा औँल्याइएका सुधार गर्नुपर्ने पक्षलाई प्राथमिकतामा राखी योजना बनाएर कार्यान्वयनमा लैजाने उनेले प्रतिवद्धता व्यक्त गरे ।

स्रोत व्यक्ति डा. अधिकारीले सुशासनको क्षेत्रमा चिकित्सालयले उल्लेखनीय काम गरेको बताउँदै रामेछापमा सञ्चालन गरिएका स्वास्थ्य शिविर तथा घरदैलो कार्यक्रमजस्ता समुदाय–केन्द्रित अभ्यास अन्य स्वास्थ्य संस्थाले पनि अनुसरण गर्नुपर्ने उदाहरणीय पहल भएको उल्लेख गरिरन् ।
यद्यपि, भण्डारण व्यवस्थापनलगायत केही प्राविधिक पक्षमा अझै सुधार आवश्यक रहेको उनको सुझाव छ । स्वास्थ्य क्षेत्रमा दिगो सुधारका लागि सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको उनले बताइन् ।

स्वास्थ्य निर्देशनालयले लागू गरेको न्यूनतम सेवा मापदण्ड कार्यक्रम स्वास्थ्य संस्थाहरूको सेवा गुणस्तर मापन र सुधारका लागि कार्यान्वयनमा ल्याइएको हो। पहिलो वर्षमै ७० प्रतिशत प्रगति हासिल गर्नु चिकित्सालयका लागि उत्साहजनक उपलब्धि भएको जनाउँदै चिकित्सालय व्यवस्थापन समिति अध्यक्ष नवराज पथिकले आगामी वर्षमा थप सुधार गर्दै सेवा प्रभावकारिता बढाइने बताए ।

चिकित्सालयले नियमित सेवा बाहेक गाउँगाउँमा स्वास्थ्य शिविर, घरदैलोमा स्वास्थ्य जाँच तथा औषधी वितरण, हरेक हप्तापको सोमबार निशुल्क होलबडि चेकअप लगायतका सेवा दिँदै आएको छ ।