रिज लाइन इनर्जी आईपीओमा आज अन्तिम मौका

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज फागुन ४ गते अन्तिम दिन रहेको छ।

कम्पनीले माघ २८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको यस आईपीओमा इच्छुक लगानीकर्ताहरूले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयरको बाँडफाँड प्रक्रिया सम्पन्न गरिसकेको छ।

कम्पनीले कुल १ अर्ब १८ करोड ५० लाख रुपैयाँ जारी पूँजीको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ११ लाख ८५ हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो।

दोस्रो चरणअन्तर्गत कम्पनीले कर्मचारीहरूका लागि २८ हजार ४४० कित्ता र सामूहिक लगानी कोषका लागि ७१ हजार १०० कित्ता शेयर सुरक्षित गरेको छ। बाँकी रहेको ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

प्रतिशेयर १०० रुपैयाँ अंकित दरको यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। कम्पनीको आईपीओमा लगानी गर्ने आज अन्तिम अवसर भएकाले समयमै आवेदन दिन लगानीकर्तालाई आग्रह गरिएको छ।