नागा बाबासहितका साधुसन्तको पशुपतिबाट आज बिदाइ

  • Clock icon
    २०८२ फाल्गुन ५, मंगलवार

महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज मंगबार दान दक्षिणासहित बिदाइ गरिँदैछ।

महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा छ।

विसं १८३१ मा जङ्गबहादुरका जेठा छोरा जगतजङ्गले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरेदेखि यो परम्परा सुरु भएको संस्थानका पूर्वउपप्रशासक एवं साधुसन्त बिदाइको धेरैपटक संयोजन गर्नुभएका दीपकबहादुर पाण्डेले जानकारी दिए।

बिदाइका लागि संस्थानले करिब रु ३० लाख बजेट छुट्याएको छ।

रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएको छ । कार्ड बाँडिएका साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिइने परम्परा रहिआएको पाण्डेले जानकारी दिए।

नेपाल बाहिरबाट आएका नागा बाबा र साधुसन्तलाई नजिकको सीमासम्म पुग्न सकियोस् भनी दक्षिणा बढाइएको संस्थानले जनाएको छ।

पशुपतिका गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा र पशुपति परिसरका विभिन्न स्थानमा गरी करिब चार हजारदेखि बढी साधुसन्त नेपाल बाहिरबाट आएका थिए ।

प्रत्येक स्थानमा फरक सम्प्रदायका साधु रहेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति जस्तै महाशिवरात्रिको अवसर पारेर थापाथली कालमोचनघाटमा रहेका वैरागी अखडा, उदासी अखडा, सन्यासी अखडा र नाथ अखडामा आई बसेका नागा बाबा एवं साधुसन्तलाई पनि आजै दान दक्षिणासहित बिदाइ गरिने संस्थानले जनाएको छ । यी साधुसन्तलाई कालमोचनघाटबाटै बिदाइ गरिन्छ।

पशुपतिनाथ मन्दिरमा २०६८ चैत २६ गते लागू गरिएको भेटीघाटी पारदर्शी तथा पूजा व्यवस्था नियमावली पछि २०६९ सालको महाशिवरात्रिदेखि पशुपति क्षेत्र विकास कोषले पनि दान दक्षिणा दिई भोजन गराएर नागाबाबा र साधुसन्तलाई बिदाइ गर्न थालेको थियो।

कोषले रु पाँच हजार एकदेखि रु १०१ सम्म दक्षिणा दिने तयारी गरेको । कोषले रु पाँच हजार एक २० साधुलाई, रु एक हजार एक दुई सय साधुलाई, रु ७०१ एक हजार साधुलाई, रु ५०१ एक हजार साधुलाई, रु ३०१ एक हजार तीन सय साधुलाई, रु २०१ जोगी सबैलाई र लाइनमा बस्ने जति सबैलाई रु १०१ दक्षिणास्वरुप दिइने कोषको तयारी छ ।

साधुलाई दान दक्षिणाका लागि रु आठ लाख बजेट कोषले छुट्याएको उनले बताए। कोषले दान दक्षिणासहित पशुपतिनाथमा वर्षभर चढाइएका रुद्राक्ष पहिराएर साधुलाई बिदाइको तयारी गरेको छ।

महाशिवरात्रिमा आएका नागा बाबा र साधुसन्तलाई पशुपतिनाथ मन्दिरभित्र पाँच दिन र बाहिर चार दिन धुनी जगाउनलाई रु सात लाखको ५० हजार किलो दाउरा किनिएको थियो ।
भेटीघाटी पारदर्शी गरी पशुपतिनाथ मन्दिरलाई नेपालकै उदाहरणीय मन्दिरका रूपमा स्थापित गराउने उद्देश्यका साथ २०६८ चैत २६ देखि कोषको भेटी बाकसमा जम्मा गरिएको भेटी रु १५ करोड पुगिसकेको पनि कोषले जनाएको छ।

  • Clock icon
    २०८२ फाल्गुन ५, मंगलवार