सुपर खुदीको आईपीओ खुला, लगानीकर्तालाई नयाँ अवसर

  • Clock icon
    २०८२ फाल्गुन ५, मंगलवार

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज (मंगलबार)देखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले कुल जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो। यसमध्ये १५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा, १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ७७ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट भइसकेको छ।

अबको चरणमा कम्पनीले कर्मचारीहरूका लागि ३१ हजार कित्ता सेयर सुरक्षित गरी बाँकी १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिने म्याद छिटोमा फागुन ११ गतेसम्म तोकिएको छ। सो अवधिमा पूर्ण आवेदन नपरेको खण्डमा ढिलोमा फागुन २० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

  • Clock icon
    २०८२ फाल्गुन ५, मंगलवार