शिखर पावरको आईपीओ खुल्दै, सर्वसाधारणलाई अवसर

  • Clock icon
    २०८२ फाल्गुन ५, मंगलवार

काठमाडाैं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत बराबर अर्थात् ३२ करोड रुपैयाँको ३२ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा विद्युत उत्पादन अनुमतिपत्रका आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ८० हजार कित्ता, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २२ हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ११ हजार कित्ता सेयर निष्काशन गरी बाँडफाँट गरिसकिएको छ।

अब दोस्रो चरणमा कम्पनीले कर्मचारीहरूका लागि ४४ हजार ४०० कित्ता सेयर सुरक्षित गरी बाँकी प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको १८ लाख ४२ हजार ६०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा फागुन २२ गते बन्द हुनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा चैत १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन ५, मंगलवार