काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ६ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल ४ लाख ८८ हजार ३०९ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ।
हालका लागि यो बिक्री केवल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ।
संस्थापक शेयरधनीहरूले आफ्नो आवेदनमा खरिद गर्न चाहेको शेयर सङ्ख्या र प्रति कित्ता मूल्य उल्लेख गरी बैंकको शेयर रजिष्ट्रार कार्यालय, आईटी प्लाजा, कमलादी, काठमाडौँमा निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैंकका अनुसार यदि तोकिएको समयभित्र संस्थापकहरूले आवेदन नदिएमा मात्र बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि उपलब्ध गराइनेछ।
यस कदमले संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै बैंकको सेयर व्यवस्थापन प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्य राखेको बैंकले जनाएको छ।
