मतदाता शिक्षामा आयोगको देशव्यापी सक्रियता

  • Clock icon
    २०८२ फाल्गुन १०, आईतवार

काठमाडौं । निर्वाचनलाई थप सहभगितामूलक र प्रभावकारी बनाउने लक्ष्यसहित निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ। बदर मतको प्रतिशत घटाउने र मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहअन्तर्गत ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ। ती स्वयंसेवकले बस्ती तथा घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत मतदानको महत्व र प्रक्रिया सम्बन्धी जानकारी दिइरहेका छन्।

मतदाता शिक्षा कार्यक्रमको प्रभावकारी अनुगमनका लागि आयोगले यसअघि स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिलाई नै अनुगमनकर्ताको जिम्मेवारी दिएको छ। उनीहरूलाई आवश्यक अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको आयोगले उल्लेख गरेको छ।

यससँगै निर्वाचन आचारसंहिता उल्लङ्घन, मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्तिमाथि कडाइ गरिएको छ। आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवद्र्धन एकाइ पूर्ण रूपमा सक्रिय रहेको जनाएको छ।

हानिकारक सूचना उत्पादन तथा सम्प्रेषण गर्ने २९० कन्टेन्ट उत्पादक र सम्प्रेषकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ।

त्यस्तै, ११ वटा प्रकरणलाई नेपाल दूरसञ्चार प्राधिकरणमा दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार कारबाहीका लागि पठाइएको छ। ६५ वटा प्रकरण प्रेस काउन्सिल नेपालमा प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम र एक प्रकरण विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ।

निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउने अभियानअन्तर्गत मतदाता शिक्षा र सूचना सदाचार प्रवर्द्धनमा आयोगको सक्रियता थप सशक्त रूपमा अघि बढिरहेको जनाइएको छ।

  • Clock icon
    २०८२ फाल्गुन १०, आईतवार