काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेड ले आज फागुन १७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत कर्मचारीका लागि छुट्याइएको ४४ हजार ४०० कित्ता बाहेक बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर सार्वजनिक रूपमा बिक्री खुला गरेको हो।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ। निष्काशन छिटोमा फागुन २२ गते बन्द हुनेछ भने आवश्यक परेमा चैत १ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।
यसअघि कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र विद्युत् उत्पादन अनुमतिपत्रका आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ८० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृति प्राप्त नेपालीका लागि २ लाख २२ हजार कित्ता तथा सामूहिक लगानी कोषका लागि १ लाख ११ हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२ दशमलव ६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्यसहित कम्पनीले सर्वसाधारणलाई सहभागी गराउँदै पूँजी संकलन प्रक्रिया अघि बढाएको जनाएको छ।
