काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि आज देशभर मतदान हुँदैछ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। निर्वाचनका लागि देशभरका मतदान केन्द्रहरूमा आवश्यक तयारी पूरा भइसकेको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।
यस निर्वाचनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले पनि विभिन्न स्थानबाट आफ्नो मताधिकार प्रयोग गर्ने कार्यक्रम तय गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत धापासीस्थित एक विद्यालयबाट मतदान गर्ने उनका सचिवालयले जनाएको छ। सुरक्षाकर्मीको समन्वयमा मतदान केन्द्र पुग्ने भएकाले मतदान गर्ने समय भने निश्चित गरिएको छैन।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बिहान १० बजे काठमाडौंको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम रहेको छ। सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापाले भने यसपटक आफैंलाई मत हाल्न पाउने छैनन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गर्नेछन्। उनी बिहान ७ बजे नै मतदान केन्द्र पुग्ने तयारीमा रहेको बताइएको छ। झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका बालेनले पनि यसपटक आफैंलाई मत हाल्न पाउने छैनन्।
रास्वपा सभापति रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरमा रहेको मतदानस्थलबाट मताधिकार प्रयोग गर्ने कार्यक्रम रहेको छ। चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेका लामिछानेको मतदाता नामावली भने काठमाडौंमा रहेकाले उनले पनि आफैंलाई मतदान गर्न पाउने छैनन्।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बिहान ७ बजे बौद्ध, महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम रहेको छ।
नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदानस्थलबाट मतदान गर्ने कार्यक्रम तय गरेका छन्। उनले दिउँसो साढे ११ बजे मतदान गर्ने सचिवालयले जनाएको छ। झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका ओलीले पनि यसपटक आफैंलाई मत हाल्न पाउने छैनन्।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गर्नेछन्। रुकुम पूर्वबाट उम्मेदवार रहेका प्रचण्डले पनि आफैंलाई मतदान गर्न पाउने छैनन्।
त्यस्तै, नेकपा सहसंयोजक माधव कुमार नेपालले आफ्नो गृहजिल्ला रौतहटको गौरस्थित रामजानकी कन्या आधारभूत विद्यालयबाट मतदान गर्ने कार्यक्रम रहेको छ।
देशभर मतदान सुरु भएसँगै मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। निर्वाचन आयोगले सबै मतदान केन्द्रमा शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको जनाएको छ।
