प्रधानमन्त्री कार्कीले मतदान गरिन्

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेकी छन्। उनले काठमाडौंको धापासीस्थित धापासी निम्न माध्यमिक विद्यालयको फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन्।

मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अत्यन्त महत्वपूर्ण भएको बताइन्। उनले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन सबै मतदाताले निर्भय र उत्साहका साथ मतदान गर्नुपर्नेमा जोड दिइन्।

प्रधानमन्त्री कार्कीले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेकोमा खुशी व्यक्त गर्दै निर्वाचनलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार पनि व्यक्त गरिन्।

यसअघि उनले सामाजिक सञ्जालमार्फत पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आफ्नो मतको महत्त्व बुझेर अनिवार्य रूपमा मतदान गर्न आह्वान गरेकी थिइन्।

देशभर बिहान ७ बजेदेखि मतदान सुरु भएको छ र साँझ ५ बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको छ। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार