काठमाडौं । नेपालमा डोंगफेङ नाम्मी इलेक्ट्रिक सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक एमएडब्ल्यू वृद्धि मोटर्स प्रा.लि.ले नाम्मी बक्स र नाम्मी भिडोका लागि नयाँ विस्तारित वारंटी कार्यक्रम सार्वजनिक गरेको छ।
सामान्यतया डोंगफेङ नाम्मी EV हरूमा ब्याट्री र मोटरमा ८ वर्ष वा २ लाख किलोमिटर (जे पहिले पूरा हुन्छ) सम्मको निर्माता वारंटी उपलब्ध हुन्छ। तर एमएडब्ल्यू वृद्धिको नयाँ विस्तारित वारंटी मार्फत ग्राहकले ११ वर्ष वा २ लाख ५० हजार किलोमिटर (जे पहिले पूरा हुन्छ) सम्मको सुरक्षा पाउनेछन्। यसले इलेक्ट्रिक सवारीको स्वामित्व अझै सहज र निश्चिन्त बनाउने बैंकको विश्वास छ।
एमएडब्ल्यू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया अनुसार, “ग्राहक हाम्रो सबै कामको केन्द्रमा छन्। यो विस्तारित वारंटीले ग्राहकलाई बढी निश्चिन्तता, स्वामित्वमा भरोसा, र सुरक्षित EV अनुभव प्रदान गर्ने अर्को कदम हो।”
चीनको प्रतिष्ठित ‘बिग फोर’ राज्य स्वामित्वको अटोमोबाइल निर्माता डोंगफेङ मोटर कर्पोरेसन १९६९ मा स्थापना भएको हो र ५ दशकभन्दा बढी उद्योग अनुभवसहित विश्वव्यापी रूपमा १०० भन्दा बढी देशमा उत्पादन बिक्री गर्दै आएको छ। डोंगफेङ फर्च्युन ग्लोबल ५०० कम्पनीमध्ये एक पनि हो।
ग्राहकहरूले डोंगफेङ नेपालको आधिकारिक वेबसाइटमार्फत एमएडब्ल्यू वृद्धि विस्तारित वारंटी कार्यक्रममा दर्ता गर्न सक्नेछन्।
यस नयाँ वारंटीले नेपालमा इलेक्ट्रिक सवारीको बजार विश्वास र ग्राहक केन्द्रित सेवामा एमएडब्ल्यू वृद्धिको प्रतिबद्धता झल्काएको बताइएको छ।
