साताको तेश्रो दिन शेयर बजार दोहोरो अंकले वृद्धि:लगानीकर्ता आकर्षित

साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक १३.५१ अंक बढेर २८१२।३४ विन्दुमा पुगेको छ। हिजो सोमबार ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

आज ३ सय ४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार ७ सय ६० कित्ता सेयर खरिद-बिक्री हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३ सय २८ रुपैयाँ बराबरको कारोबार भएको छ।

सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ४४ अंक, फ्लोट इण्डेक्स शून्य दशमलव ४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ४१ अंकले बढेको छ।

रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै ५६ करोड ३७ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। बैंकिङ, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ।

लामो समयदेखि स्थिर रहेको बजारमा निर्वाचनको नतिजाले नयाँ गति लियो। विशेषगरी पुराना दलहरूको विकल्पमा नयाँ शक्तिलाई प्राप्त म्यान्डेटले देशको आर्थिक संरचनामा सुधार र सुशासन आउने अपेक्षामा लगानीकर्ताहरू हौसिएका छन्।