काठमाडौँ । वैद्य इनर्जी प्रालिले नेपालमा अथर एनर्जीको नयाँ इलेक्ट्रिक स्कुटर ‘रिज्टा एस’ सार्वजनिक गरेको छ।
आकर्षक प्रारम्भिक मूल्यसहित बजारमा ल्याइएको यो मोडेलले गत वर्ष सार्वजनिक गरिएको ‘रिज्टा’ श्रृंखलाको सफलतापछि कम्पनीको उत्पादन लाइन–अपलाई थप मजबुत बनाएको जनाएको छ। कम्पनीले पहिलो १५० ग्राहकका लागि २० हजार रुपैयाँ छुटको विशेष अफर उपलब्ध गराएको छ, जसअनुसार ‘रिज्टा एस’ को प्रभावकारी मूल्य २ लाख ७४ हजार ९ सय ९९ रुपैयाँ कायम हुने जनाएको छ।
अथरका सिइओ सुर्यांश वैद्यले ‘रिज्टा एस’ लाई नेपाली परिवारका लागि सरल, व्यवहारिक र पहुँचयोग्य विद्युतीय सवारीको रूपमा डिजाइन गरिएको बताए। उनले यसको डिजाइन, प्रदर्शन र ‘अथर एसुरेन्स’ प्याकेजले ग्राहकका वास्तविक आवश्यकता सम्बोधन गर्ने विश्वास व्यक्त गरे।
कम्पनीका अनुसार ‘रिज्टा एस’ मा २.७ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ, जसले १२३ किलोमिटरको आइडीसी रेन्ज प्रदान गर्छ। स्कुटरले ४.३ किलोवाटको पीक पावर उत्पादन गर्ने क्षमता राख्छ भने २२ न्यूटन मिटर टर्क उपलब्ध गराउँछ। यसको अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा रहेको छ भने ० देखि ४० किलोमिटर प्रतिघण्टासम्मको गति केवल ४.७ सेकेन्डमै लिन सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ।
यात्रुहरूको सहजताका लागि स्कुटरमा फराकिलो सिट, ठूलो स्टोरेज स्पेस र प्रशस्त फुटबोर्ड उपलब्ध गराइएको छ। सुरक्षाका दृष्टिले अटो होल्ड, फल सेफ तथा आकस्मिक स्टप सिग्नलजस्ता आधुनिक प्रविधि समावेश गरिएको छ।
यससँगै कम्पनीले ‘अथर एसुरेन्स’ प्याकेज पनि उपलब्ध गराएको छ, जसले ग्राहकलाई दीर्घकालीन भरोसा, सहज चार्जिङ सुविधा र भरपर्दो सेवा अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। कम्पनीका अनुसार स्कुटरको ब्याट्रीमा ३ वर्ष वा ३० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको छ, जसलाई ५ वर्ष वा ६० हजार किलोमिटरसम्म विस्तार गर्न सकिने व्यवस्था रहेको छ।
त्यसैगरी, देशभर ३५ वटा सार्वजनिक फास्ट चार्जर स्थापना गरिएको छ, जसलाई दुईपांग्रे विद्युतीय सवारीका लागि सबैभन्दा ठूलो नेटवर्क मानिएको छ। ग्राहकहरूले एक वर्षसम्म निःशुल्क चार्जिङ सुविधा पाउनेछन्।
अथरका एक्सपिरियन्स सेन्टरमार्फत सीमित अवधिका लागि वार्षिक मर्मत सम्झौतामा २० प्रतिशत छुटसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ। वैद्य इनर्जीका अनुसार यी सबै सुविधाले ‘रिज्टा एस’ लाई नेपाली बजारमा परिवार तथा दैनिक यात्रुका लागि भरपर्दो र व्यवहारिक विद्युतीय स्कुटरको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
