काठमाडौं । विश्वकै अग्रणी विद्युतीय सवारी निर्माता बीवाईडी का लागि सन् २०२५ को अन्त्य र २०२६ को सुरुवात चुनौतीपूर्ण देखिएको छ। पछिल्लो आर्थिक प्रतिवेदनअनुसार कम्पनीको वार्षिक शुद्ध नाफामा १९ प्रतिशतको गिरावट आएको छ।
कम्पनीको नाफा घटेर ४ अर्ब ७१ करोड अमेरिकी डलरमा सीमित भएको छ, जबकि सन् २०२४ मा ५ अर्ब ८३ करोड अमेरिकी डलर नाफा आर्जन गरिएको थियो। यद्यपि, सन् २०२५ मा कुल राजस्व भने ११६ अर्ब ३२ करोड अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.५ प्रतिशतको सामान्य वृद्धि मात्र हो। यो वृद्धिदर पछिल्लो ६ वर्षकै सबैभन्दा सुस्त मानिएको छ।
बीवाईडीको सवारी बिक्री भने ७.७ प्रतिशतले बढेर एक वर्षमा ४६ लाख थान पुगेको छ। बिक्री बढेपनि प्रति सवारीबाट प्राप्त हुने मुनाफामा उल्लेख्य गिरावट आएको कम्पनीले जनाएको छ।
नाफामा गिरावट आउनुको प्रमुख कारण चीनको आन्तरिक बजारमा देखिएको तीव्र मूल्य प्रतिस्पर्धा हो। टेस्ला, जिली र साओमी जस्ता प्रतिस्पर्धी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न कम्पनीले आफ्ना मोडलहरूको मूल्य घटाउनुपरेको छ।
यसका साथै चिनियाँ सरकारले सस्तो विद्युतीय गाडीमा दिँदै आएको कर छुट तथा अनुदान सुविधा हटाएपछि बीवाईडीलाई थप असर परेको छ। कम बजेटका सवारीमा निर्भर रहेको कम्पनीका लागि यसले माग र नाफा दुवैमा दबाब सिर्जना गरेको छ।
यस चुनौतीपूर्ण अवस्थाबीच कम्पनीले सन् २०२६ को सुरुवातदेखि आक्रामक रणनीति अवलम्बन गरेको छ। जनवरीदेखि मार्चसम्मको अवधिमा कम्पनीले पाँचौँ पुस्ताको हाइब्रिड प्रविधि सार्वजनिक गरेको छ, जसमार्फत एकपटकको इन्धन र पूर्ण चार्जमा २,००० किलोमिटरभन्दा बढी दूरी तय गर्न सकिने दाबी गरिएको छ।
साथै, बीवाईडीले चीन बाहिर ११९ देशमा बजार विस्तारलाई तीव्रता दिएको छ भने युरोप र दक्षिण–पूर्वी एसियामा नयाँ उत्पादन कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले नयाँ रणनीतिमार्फत आगामी दिनमा आफ्नो बजार र नाफा दुवै सुदृढ गर्ने लक्ष्य लिएको छ।
