सिरहा । लहान नगरपालिका का कर्मचारी र शिक्षकहरूले विगत चार महिनादेखि तलब नपाउँदा दैनिक जीवनयापनमा समस्या भोगिरहेका छन्।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका सबै खाता रोक्का गरेपछि तलब, भत्ता मात्र नभई विद्यालयसँग सम्बन्धित अनुदान समेत प्रभावित भएको छ। एक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद साहका अनुसार मंसिरदेखि तलबसँगै पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा र विद्यालय व्यवस्थापन अनुदान पनि रोकिएको छ, जसले कर्मचारी र शिक्षकलाई आर्थिक कठिनाइमा पारेको छ।
नगर प्रमुख महेशप्रसाद चौधरीले खाता रोक्का हुनुको कारण प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवाद र राजनीतिक पूर्वाग्रह भएको दाबी गरेका छन्। उनका अनुसार मन्त्रालयले चुनावपछि खाता खोल्ने आश्वासन दिए पनि हालसम्म समस्या समाधान भएको छैन।
मन्त्रालयले पहिले प्रमुख प्रशासकीय अधिकृत जयकान्त झालाई सरुवा गरी शिक्षातर्फका उपसचिव खिम भुजेललाई पठाउने निर्णय गरेको थियो। तर नगरपालिकाले प्रशासनतर्फ अनुभवी उपसचिवको माग गर्दै आपत्ति जनाएको थियो। सोही विषयमा विवाद चुलिएपछि सरुवाविरुद्ध अदालतमा मुद्दा समेत दायर गरिएको थियो।
अदालतले फागुन ११ गते सरुवालाई यथास्थितिमा राख्ने आदेश दिए पनि खाता फुकुवा नभएकाले समस्या अझै समाधान हुन सकेको छैन।
कर्मचारीहरूले आज इलाका प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै नयाँ वर्ष २०८३ र सिरुवा पर्वअघि नै तलब भुक्तानी नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
