अक्सिजनका लागि १५ वर्षदेखि लडिरहेकी ‘अक्सिजन लेडी’ आईसियुमा, निःशुल्क अक्सिजनको माग फेरि चर्चामा

  • Clock icon
    २०८२ चैत्र २०, शुक्रबार

देशभरका बिरामीलाई स्वास फेर्न आवश्यक अक्सिजन निःशुल्क उपलब्ध गराउनुपर्ने मागसहित लामो समयदेखि अभियान चलाउँदै आएकी सामाजिक अभियन्ता कमला अर्याल यतिबेला आफैं गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेकी छन्।

‘अक्सिजन लेडी’को नामले चिनिने ५९ वर्षीया अर्याललाई श्वासप्रश्वासमा समस्या देखिएपछि बीर अस्पतालको आईसियुमा भर्ना गरिएको हो।

अस्पताल स्रोतका अनुसार, पछिल्लो समय काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणका कारण अर्यालको स्वास्थ्यमा अचानक जटिलता देखिएको थियो।

हाल उनी विशेषज्ञ चिकित्सकहरूको उच्च निगरानीमा उपचाररत छिन्। चिकित्सकहरूले उनको अवस्था सुधारोन्मुख रहेको बताएका छन्, जसले उनका शुभेच्छुकहरूमा आशा जगाएको छ।

विगत १५ वर्षदेखि निरन्तर रूपमा अक्सिजनको अधिकारका लागि आवाज उठाउँदै आएकी अर्यालले विशेषगरी दीर्घकालीन श्वासप्रश्वास रोगीहरूका लागि राज्यले निःशुल्क अक्सिजन उपलब्ध गराउनुपर्ने माग गर्दै आएकी छन्।

तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको कार्यकालमै उनले कृतिम अक्सिजनमा निर्भर नागरिकका लागि राज्यले अनिवार्य रूपमा निःशुल्क अक्सिजन उपलब्ध गराउनुपर्ने प्रस्ताव स्वास्थ्य मन्त्रालयसमक्ष पेश गरेकी थिइन्। तर, उक्त मागमा हालसम्म कुनै ठोस र सकारात्मक कदम चालिएको छैन।

आईसियुको शैयाबाटै उनले वर्तमान सरकार र स्वास्थ्य मन्त्रीलाई आफ्नो पुरानो माग कार्यान्वयन गर्न पुनः आग्रह गरेकी छन्। “अक्सिजन विलासिता होइन, जीवन बचाउने आधारभूत अधिकार हो,” भन्ने उनको सन्देश अहिले सामाजिक सञ्जाल र स्वास्थ्य क्षेत्रमै पुनः गुञ्जिन थालेको छ।

अर्यालको स्वास्थ्य अवस्था सुधारतर्फ उन्मुख भए पनि, उनको अभियानले उठाएको प्रश्न अझै जीवित छ—के नेपालमा अक्सिजनजस्तो आधारभूत आवश्यकतामा राज्यले जिम्मेवारी लिन्छ ?

  • Clock icon
    २०८२ चैत्र २०, शुक्रबार