काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण देशभरका १,९६१ परीक्षा केन्द्रहरूमा सुरु गरिएको छ । परीक्षाको समयमै नतिजा प्रकाशन सुनिश्चित गर्न यस वर्षदेखि उत्तरपुस्तिका परीक्षण प्रक्रिया परीक्षा सकिएलगत्तै अघि बढाइएको हो ।
परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएपछि केही घण्टामै जाँच प्रक्रिया सुरु गरिएको हो । काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयमा बिहान अंग्रेजी परीक्षा सम्पन्न भएपछि दुई घण्टाभित्रै उत्तरपुस्तिका परीक्षण सुरु गरिएको केन्द्र प्रमुख रिता तिवारीले जानकारी दिइन् ।
उक्त केन्द्रमा आठ विद्यालयका ३०५ विद्यार्थी सहभागी भएकामा ३ जना अनुपस्थित रहेका थिए । परीक्षा अवधिभर ३०२ विद्यार्थीले सहभागिता जनाएका थिए ।
परीक्षा सकिएपछि उत्तरपुस्तिका प्रहरीको निगरानीमा मुहर लगाएर सुरक्षित राखिएको थियो भने दिउँसो १ बजेदेखि नै परीक्षकहरूले उत्तरकुञ्जीका आधारमा सीसीटीभी निगरानीमा जाँच सुरु गरेका थिए ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्रत्येक रोस्टरमा दुई परीक्षक खटाइने र तीन दिनभित्र मूल्यांकन सम्पन्न गरिने लक्ष्य राखिएको छ । त्यसपछि मोडरेशन प्रक्रिया पूरा गरी उत्तरपुस्तिका जिल्ला शिक्षा तथा समन्वय इकाइमा पठाइनेछ ।
यस प्रक्रियाले एसईई नतिजा छिटो प्रकाशन गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
