कुमारी बैंकको रजत उत्सव सम्पन्न

  • Clock icon
    २०८२ चैत्र २०, शुक्रबार

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रम आयोजना गर्दै आफ्नो २५ औं वार्षिकोत्सव (रजत जयन्ती) उत्साहपूर्वक मनाएको छ । बैंकले यस अवसरमा आफ्ना ग्राहक, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकप्रति कृतज्ञता व्यक्त गर्दै निरन्तर सहयोग र विश्वासका लागि आभार प्रकट गरेको छ ।

देशकै अग्रणी बैंक बन्ने लक्ष्यसहित कुमारी बैंकले उत्कृष्ट बैंकिङ सेवा र वित्तीय सुविधा प्रवाह गर्न प्रतिबद्धता दोहोर्‍याएको छ ।

वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौं, ललितपुर, भक्तपुरसहित देशका विभिन्न प्रदेशहरूमा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । यस कार्यक्रमले रक्त अभाव न्यूनीकरण र जीवन बचाउने अभियानमा योगदान गर्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, सांस्कृतिक पहिचान र विविधतालाई प्रोत्साहन गर्न बैंकले “परम्परागत भेषभूषा” पहिरन कार्यक्रमसमेत आयोजना गरेको छ । यसले कर्मचारीहरूलाई आफ्नो सांस्कृतिक पहिचान प्रस्तुत गर्न अवसर प्रदान गरेको बैंकले जनाएको छ । “सबैका लागि सधैंका लागि” भन्ने मूल उद्देश्यअनुसार समावेशीता र संस्थागत संस्कृतिलाई मजबुत बनाउने लक्ष्य रहेको छ ।

बैंकले सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउन “समुदायका लागि कुमारी बैंक” कार्यक्रम पनि सुरु गरेको छ । यसअन्तर्गत देशभरका शाखामार्फत गरिब, विपन्न तथा पिछडिएका वर्गको जीवनस्तर सुधारमा निरन्तर पहल गरिने बैंकले जनाएको छ ।

साथै, रजत जयन्तीको अवसरमा बैंकले नयाँ “सिल्भर सेभिङ्स खाता” पनि सार्वजनिक गरेको छ, जसमा बचत खातामै मुद्दती खातासरह ब्याजदर पाइने सुविधा रहेको छ ।

विगत २५ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले हाल देशभर २८६ शाखा, ३०२ एटीएम, ४१ एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ इकाइमार्फत ३० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले आगामी दिनमा अझ सरल, सुलभ र आधुनिक बैंकिङ सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

  • Clock icon
    २०८२ चैत्र २०, शुक्रबार