सक्षम महिला नेतृत्व: ज्योत्सना श्रेष्ठ समूहप्रति व्यवसायीको विश्वास

jyotsna shrestha

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ को आसन्न निर्वाचनका लागि एसोसिएटतर्फ उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठ को समूहले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ। हनुमान जयन्तीको अवसर पारेर टेकुस्थित महासंघ केन्द्रीय कार्यालयमा पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएकी हुन्।

चैत २९ र ३० गते हुने महासंघको साधारणसभा तथा निर्वाचनलाई लक्षित गर्दै श्रेष्ठ नेतृत्वको समूहबाट कार्यकारिणी सदस्यमा १६ जनाले उम्मेदवारी दिएका छन्। उक्त समूहमा जश श्रेष्ठसहित अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्धु बस्नेत, गोपाल खनाल, जमुना पौडेल, रामराजा श्रेष्ठ, रामशरण थपलिया, राजकुमार तिमलसिना, शोभा ज्ञवाली, सन्दीप मखानी (अग्रवाल), शैलेन्द्र गुरागाईं र सुनिलनारायण श्रेष्ठ रहेका छन्।

हाल महासंघको उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेकी ज्योत्सना श्रेष्ठ अनुभवी, सक्षम र निष्ठावान् महिला उद्यमीका रूपमा परिचित छन्। उनी नेपाल रत्न तथा आभूषण संघ की पूर्वअध्यक्षसमेत रहिसकेकी छन्। व्यवसायिक क्षेत्रको गहिरो अनुभव, सरल र सहज व्यक्तित्व तथा नेतृत्वदायी क्षमताका कारण उनी व्यवसायी समुदायमाझ विश्वासको प्रतीक बनेकी छन्।

महिला सहभागिता अझै पनि सीमित रहेको नेपाली व्यवसायिक परिवेशमा श्रेष्ठको उपस्थिति प्रेरणादायी मानिन्छ। उनलाई एक सफल महिला नेतृत्वको ‘आइकन’ का रूपमा हेर्ने गरिएको छ, जसले हरेक क्षेत्रमा आफूलाई अब्बल सावित गरिसकेकी छन्।

उनको उपाध्यक्ष पदको उम्मेदवारीलाई महासंघको गरिमा अझ उचो बनाउने अवसरका रूपमा लिइएको छ। व्यवसायीहरूको विश्वास छ—अनुभव, इमानदारी र स्पष्ट दृष्टिकोणका कारण श्रेष्ठको नेतृत्वमा महासंघले अझ प्रभावकारी र परिणाममुखी काम गर्नेछ।

श्रेष्ठको प्यानलमा रहेका उम्मेदवारहरू पनि आफ्ना–आफ्ना क्षेत्रमा सक्षम, सरल र प्रतिबद्ध व्यक्तित्वका रूपमा चिनिन्छन्। यस समूहप्रति व्यवसायी समुदायको झुकाव बढ्दो देखिन्छ, जसले आगामी निर्वाचनमा सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको छ।

समग्रमा, अनुभव, समर्पण र स्पष्ट दृष्टिकोणसहित अघि बढेको ज्योत्सना श्रेष्ठ समूहलाई महासंघको नेतृत्वमा देख्नुपर्ने आवाज व्यवसायी वृत्तमा बलियो बन्दै गएको छ। निजी क्षेत्रको सशक्त प्रतिनिधित्व गर्दै महासंघलाई नयाँ उचाइमा पुर्‍याउने विश्वासका साथ धेरैले यस समूहको विजयलाई आवश्यक ठानेका छन्।