काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले आज (चैत २६ गते)देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको थियो। अब दोस्रो चरणमा सर्वसाधारणका लागि आवेदन खुला गरिएको हो।
कम्पनीले कुल ५७ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ४ लाख ७० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वितरण भइसकेको छ। साथै, ३७ हजार कित्ता सामूहिक लगानी कोष र १८ हजार ८०० कित्ता कर्मचारीहरूका लागि छुट्याएर बाँडफाँट गरिएको छ।
हाल दोस्रो चरणअन्तर्गत बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो।
इच्छुक लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीका अनुसार यो आईपीओ छिटोमा चैत ३० गतेसम्म बन्द हुनेछ। यदि पर्याप्त आवेदन नपरेमा ढिलोमा २०८३ वैशाख १० गतेसम्म निष्काशन अवधि लम्बिन सक्नेछ।
