व्यवसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले गोर्खालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित प्रख्यात लक्जरी हेरिटेज ‘समिट होटल’को शिलान्यास गरेको छ।
काठमाडौँको चर्चित ‘समिट होटल’बाट प्रेरित यस परियोजना आधुनिक सुविधा र नेपाली मौलिकता समेटिएको स्तरीय लक्जरी रिसोर्टका रूपमा विकास गरिने सीजी हस्पिटालिटीले जनाएको छ।
सीजी हस्पिटालिटीका अनुसार सन् १९७८ मा स्थापित काठमाडौँको ऐतिहासिक समिट होटलको विरासतलाई नयाँ स्वरूप दिदै गोर्खामा निर्माण हुन लागेको यो परियोजनाले आधुनिक सुबिधाहरुका साथै नेपाली मौलिकता प्रदान गर्नेछ।
करिब ३० रोपनी क्षेत्रफलमा फैलिने यो परियोजना आगामी दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष लिईएको छ। करिव ३० वटा लक्जरी कोठाहरु रहने यस होटलको रुम रेट करिब ५०० अमेरिकी डलर आसपास रहने छ। समिट होटलले नेपालभित्रका तथा विदेशबाट आउने पर्यटकलाई लक्षित गर्दै स्तरीय सेवा प्रदान गर्नेछ।
सीजी हस्पिटालिटीका अनुसार यस परियोजनाको मुख्य उद्देश्य गोर्खालाई नेपालका प्रमुख लक्जरी पर्यटन गन्तव्यहरूको सर्किटमा जोड्नु हो। ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण गोर्खा दरबार नजिकै निर्माण हुने यो परियोजनाले नेपालको इतिहास, मौलिकता र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
गोर्खा त्यही स्थल हो जहाँबाट पृथ्वी नारायण शाहले नेपाल राज्यको एकीकरण गर्दै आधुनिक नेपालको निर्माण गरेका थिए।
सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीका अनुसार यो परियोजना नेपालको पर्यटन क्षेत्रमा चौधरी ग्रुपको निरन्तर विश्वास र प्रतिबद्धताको अर्को एउटा महत्वपुर्ण कदम हो। यत्रो ठूलो होटल बनाउँदा राज्यले कर कसरी पाउँछ ? कर कति तिर्छ चौधरी गु्रपले ?प्रश्न सबैमा उठेको छ ।
