तेल बजारमा पुनः उकालो, प्रभाव नेपालसम्म

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नौसैनिक नाकाबन्दी गर्ने घोषणा गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा पुनः तीव्र वृद्धि देखिएको छ। आइतबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ८ प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल १०३ डलर नाघेको छ।

त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) को मूल्य पनि ७.८६ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल १०४.१६ डलर पुगेको छ। यसअघि गत मंगलबार तेलको मूल्य १११ डलर प्रति ब्यारेल पुगेपछि ओरालो लागेको थियो, तर पछिल्ला घटनाक्रमसँगै पुनः उकालो लागेको हो।

साताको अन्त्यमा अमेरिकी र इरानी अधिकारीहरूबीच भएको युद्धविराम वार्ता असफल भएपछि ट्रम्पले अमेरिकी नौसेनाले हर्मुज जलडमरूमार्फत हुने जहाज आवतजावत नियन्त्रण गर्ने घोषणा गरेका हुन्। यद्यपि, अमेरिकी सेन्ट्रल कमान्डले पछि स्पष्ट पार्दै नाकाबन्दी इरानसँग सम्बन्धित जहाजहरूमा मात्र सीमित रहने जनाएको छ र अन्य देशका जहाजलाई अवरोध नहुने बताएको छ। यो व्यवस्था सोमबार पूर्वी समयअनुसार बिहान १० बजेदेखि लागू हुने जनाइएको छ।

विश्वको कुल तेल तथा ग्यास आपूर्तिको करिब पाँचौँ भाग ओगट्ने हर्मुज जलडमरूमा तनाव बढेसँगै तेलको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ। गत महिना ब्रेन्ट क्रुडको मूल्य ११९ डलर पुगेको थियो भने युद्धविराम घोषणा भएपछि ९२ डलरमा झरेको थियो।

यसैबीच, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा पनि इन्धनको मूल्य थप बढ्ने संकेत देखिएको छ। हाल नेपालमा पेट्रोल प्रति लिटर २१९ रुपैयाँ, डिजेल र मट्टीतेल २०७ रुपैयाँ, खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर २०१० रुपैयाँ तथा आन्तरिक हवाई इन्धन प्रति लिटर २५७ रुपैयाँ कायम छ।

हर्मुज क्षेत्रमा देखिएको आपूर्ति अवरोधका कारण नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त गर्ने नयाँ मूल्यसूची अझ महँगो आउने अनुमान गरिएको छ। इन्धन मूल्य वृद्धिको प्रत्यक्ष असर ढुवानी खर्चमा पर्ने हुँदा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको मूल्य बढ्ने सम्भावना रहेको छ।

यस्तै, हवाई इन्धन महँगिँदा आन्तरिक उडानको भाडा पनि बढ्न सक्ने देखिएको छ। अन्तर्राष्ट्रिय स्तरमा जारी भू-राजनीतिक तनाव चाँडै समाधान नभएमा नेपालमा महँगीले नयाँ उचाइ लिन सक्ने अनुमान गरिएको छ।