काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा उल्लेखनीय रूपमा उच्च देखिएको छ। भन्सार विभाग का अनुसार साउनदेखि फागुन मसान्तसम्म डिजेल, पेट्रोल, एलपीजी ग्यास र हवाई इन्धन आयातमा मात्रै करिब १ खर्ब ७६ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ खर्च भएको छ।
यस अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको छ। नेपालले ८२ अर्ब १० करोड ५१ लाख रुपैयाँ बराबरको ८ लाख ९६ हजार ४४८ किलोलिटर डिजेल आयात गरेको छ। यसबाट मात्रै सरकारले ३५ अर्ब ९१ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
त्यसैगरी पेट्रोल आयात पनि उच्च रहेको छ। आठ महिनामा ४३ अर्ब ८९ करोड ७३ लाख रुपैयाँ बराबरको ५ लाख ११ हजार ९०७ किलोलिटर पेट्रोल आयात भएको छ। यसबाट २८ अर्ब ९६ करोड ६ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ।
खाना पकाउने एलपीजी ग्यासतर्फ ३७ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ बराबरको ३७ करोड २२ लाख केजी ग्यास आयात भएको छ। ग्यासबाट ६ अर्ब ९५ करोड ९१ लाख रुपैयाँ राजस्व उठाइएको छ।
यस्तै, हवाई इन्धन आयात १३ अर्ब ३३ करोड १३ लाख रुपैयाँ बराबरको १ लाख ४४ हजार ८११ किलोलिटर पुगेको छ। यसबाट २ अर्ब ७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
समग्रमा यी चार प्रमुख इन्धनबाट मात्रै राज्यले ७३ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ, जसले राजस्व प्रणालीमा महत्वपूर्ण योगदान दिएको देखिन्छ।
यद्यपि अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावले नेपालको इन्धन आयातमा चुनौती थपिएको छ। विशेषगरी मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्व र भू–राजनीतिक तनावका कारण कच्चा तेलको मूल्य अस्थिर बन्दै गएको छ। यसले ढुवानी खर्च बढाउँदा नेपालजस्ता आयातमा निर्भर देशहरूमा मूल्यवृद्धिको दबाब बढिरहेको छ।
इन्धन आयातको उच्च खर्चले शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा समेत प्रभाव पार्ने देखिएको छ। सरकारले विद्युतीय सवारी र विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको भए पनि व्यवहारमा पेट्रोलियम पदार्थप्रतिको निर्भरता अझै उच्च रहेको तथ्याङ्कले पुष्टि गरेको छ।
यदि अन्तर्राष्ट्रिय बजारमा अस्थिरता कायम रहेमा आगामी दिनमा इन्धनको मूल्य अझै बढ्ने र त्यसले नेपाली बजारमा महँगी थप चर्काउने जोखिम कायम रहने देखिन्छ।
