बालस्वास्थ्य अभियान देशभर सुरु

काठमाडौं । सरकारले देशभरका बालबालिकालाई लक्षित गर्दै भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सुरु गरेको छ। आइतबार र सोमबार सञ्चालन हुने यस अभियानमार्फत लाखौं बालबालिकालाई औषधि वितरण गरिनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदैछ भने १ वर्षदेखि ५ वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि (अल्बेन्डाजोल) प्रदान गरिँदैछ।

अभियान सफल बनाउन देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ। उनीहरू विभिन्न खोप केन्द्रमार्फत सेवा प्रदान गरिरहेका छन्।

प्रत्येक वर्ष कात्तिक र वैशाखमा सञ्चालन हुने यो अभियानले बालबालिकाको आँखाको ज्योति संरक्षण, रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा कुपोषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने चिकित्सकहरूले बताएका छन्।

मन्त्रालयले अभिभावकहरूलाई नजिकको खोप केन्द्रमा गई आफ्ना बालबालिकालाई औषधि खुवाउन आग्रह गरेको छ।