डेरी एसोसिएसनको मोही अभियान लाइ समर्थन गर्दै उद्योगहरु आफैंले पनि शुरु गर्न थाले वितरण

काभ्रे – हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर, बनेपा–७ धनेश्वरले ‘ नेपाल डेरी एसोसिएसनको मोही अभियान’ शुरु गरेको छ। शुक्रबार धुलिखेलमा आयोजित एक कार्यक्रममा डेरीका प्रबन्ध निर्देशक तथा नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य रबिन्द्र हुमागाईंले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई मोही हस्तान्तरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरेका हुन्।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं, विभिन्न सरकारी कार्यालयका प्रमुख, प्रशासकीय अधिकृत तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई मोही वितरण गर्दै वरिष्ठ सञ्चारकर्मी मधुसुदन गुरागाईंले मोही सेवनलाई संस्कारका रूपमा विकास गर्न र दूधका परिकारहरूको प्रयोग बढाउन यस्तो अभियान महत्वपूर्ण हुने बताए।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नेपाली कृषकले उत्पादन गरेका दुग्ध पदार्थहरूको प्रयोगमा प्रोत्साहन गर्न यस्ता अभियान उपयोगी हुने उल्लेख गरे। हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर गुणस्तरीय दूध तथा दुग्ध पदार्थ उत्पादन गर्दै आएको डेरी उद्योग हो। उद्योगले बनेपा र काठमाडौं उपत्यकाका उपभोक्तालाई लक्षित गर्दै हाल टेबल बटर, नौनी, घिउ, पनिर, चिज, दही र दूध उत्पादन गर्दै आएको छ। ‘दर्शन’ ब्रान्डमा पास्चराइज्ड दूध, दही र राजा दही उत्पादन गर्दै आएको र गत वर्षदेखि मोही पनि बजारमा ल्याएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति प्राप्त गरी उत्पादन सुरु गरिएको डेरीले हाल दैनिक करिब १ हजार लिटर मोही उत्पादन गरिरहेको छ।

मोही १ लिटर र हाफ लिटरको बोतलमा क्रमशः ८० रुपैयाँ र ४० रुपैयाँ खुद्रा मूल्यमा उपलब्ध छ। ठूला समारोह तथा कार्यक्रमका लागि बल्क प्याकमा पनि मोही उपलब्ध गराइँदै आएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थाका कार्यक्रममा मोही उपलब्ध गराएर अभियानलाई थप प्रवर्द्धन गरिएको डेरीले जनाएको छ।

‘मोहीको विश्वास, स्वास्थ्यको विकास: घरघरमा फैलाऔं अभियानको प्रयास’ भन्ने नारासहित दोस्रो राष्ट्रिय मोही दिवस २०८२ चैत २८ गते देशभर मनाइएको थियो। पछिल्लो समय विभिन्न स्थानीय तहहरूले पनि मोहीलाई ब्रान्डिङ गर्न थालेका छन्।

नेपाल डेरी एसोसिएसनका अनुसार मोहीप्रतिको आकर्षण बढ्दै जाँदा धेरै डेरी उद्योगहरूले व्यावसायिक रूपमा उत्पादन सुरु गरेका छन्। मोहीमा करिब १ प्रतिशत फ्याट र ५ प्रतिशत एसएनएफ राखिन्छ। यसमा क्याल्सियम, प्रोटिन, एमिनो एसिडलगायत पोषक तत्व पाइने भएकाले हड्डीको विकास, पाचन प्रणाली सुधार तथा शरीरलाई तन्दुरुस्त बनाउन सहयोग पुग्छ। विशेष गरी गर्मी मौसमका लागि मोही स्वास्थ्यवर्द्धक प्राकृतिक पेय मानिन्छ। बच्चादेखि वृद्धसम्मका लागि उपयुक्त भए पनि ग्यास्ट्रिक समस्या भएका व्यक्तिले अत्यधिक अमिलो मोही सेवन नगर्न सुझाव दिइएको छ।

नेपाल डेरी एसोसिएसनले विदेशी तथा कृत्रिम पेय पदार्थको विकल्पमा स्वदेशी मोही प्रयोग गर्न आह्वान गर्दै सरकारी बैठक, विद्यालयका क्यान्टिन र पारिवारिक कार्यक्रमहरूमा मोहीको प्रयोग बढाउन अनुरोध गरेको छ। यसले ग्रामीण किसानलाई उचित मूल्य दिलाउन र आयात घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। मोही सेवन गर्ने समय व्यक्ति अनुसार फरक हुन सक्छ। सामान्यतया बिहान वा दिउँसो सेवन गर्दा बढी लाभदायक मानिन्छ। आयुर्वेद अनुसार खाना खाएपछि पानीभन्दा मोही पिउनु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ।

यसैबीच, नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालका अनुसार एसोसिएसनले सुरु गरेको मोही अभियानलाई अब डेरी उद्योगहरूले पनि अघि बढाउन थालेका छन्। अहिले देशभर २५/३० हजार लिटर मोही दैनिक उत्पादन भैई बजारमा बिक्री हुने गरेको कुरा नेपाल डेरी एसोसिएसन बागमती प्रदेश अध्यक्ष टिकाप्रसाद घिमिरेले जानकारी गराउँदै भने काभ्रेमा हिमालयन डेरीले मोही उत्पादन सुरु गर्नु र अभियान सञ्चालन गर्नु सकारात्मक कदम भएको बताए भने उनका अनुसार काभ्रेमा व्यावसायिक रूपमा मोही उत्पादन गर्ने यो पहिलो डेरी उद्योग हो।