काठमाडाैं । नबिल बैंक ले काठमाडौंको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ बानेश्वर क्षेत्रमा रहेका शाखाहरूलाई एकीकृत गर्ने निर्णय गरेको छ।
बैंकको पछिल्लो निर्णयअनुसार हाल सञ्चालनमा रहेका बिजुलीबजार र शंखमुल शाखाहरू आगामी वैशाख २१ गतेदेखि बन्द भई नयाँ बानेश्वर शाखामा गाभिने भएका छन्। यस कदमले सेवा व्यवस्थापनलाई थप सहज र केन्द्रित बनाउने अपेक्षा गरिएको छ।
बैंकले दुवै शाखाका सम्पूर्ण ग्राहकका खाता तथा लकर सुविधाहरू स्वतः नयाँ बानेश्वर शाखामै स्थानान्तरण हुने जानकारी दिएको छ। यसले ग्राहकलाई सेवा लिन थप सहजता प्रदान गर्ने बैंकको भनाइ छ।
त्यसैगरी, लकर सेवा प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्ना बहुमूल्य तथा टुटफुट हुन सक्ने सामग्रीहरू वैशाख १७ गते बिहीबारसम्ममा सुरक्षित रूपमा निकालिसक्न बैंकले अनुरोध गरेको छ।
नबिल बैंकले सेवा प्रवाहलाई आधुनिक र प्रभावकारी बनाउने उद्देश्यसहित गरिएको यो समायोजनले ग्राहक अनुभव अझ सहज हुने विश्वास व्यक्त गरेको छ।
