काठमाडौं । “जति टाढा उति देशको माया गाढा” भन्ने उक्ति खेम शर्मा को जीवनमा ठ्याक्कै मेल खान्छ। लामो समय अस्ट्रेलियामा बसेर कर्म गरे पनि उनको मन भने सधैं मातृभूमिको समृद्धि र परिवर्तनमै केन्द्रित रह्यो। केही वर्षयता नेपालमै सक्रिय रहेका शर्माले “देशमै केही गरौँ, देशको मुहार फेरौँ” भन्ने संकल्पलाई जीवनको मूल ध्येय बनाएका छन्।
सरसफाइ जस्तो सामान्य देखिने विषयलाई उनले अनुशासन, सभ्यता र समृद्धिको पहिलो आधार माने। एक दशकअघि त्रिभुवन अन्तरास्ट्रीय विमानस्थलमा सरसफाइको नमूना प्रस्तुत गर्दै उनले समाजलाई एउटा स्पष्ट सन्देश दिएका थिए—परिवर्तन ठूलो नाराबाट होइन, सानो व्यवहारबाट सुरु हुन्छ। त्यसपछि पशुपतिनाथ मन्दिर लगायत देशका विभिन्न क्षेत्रमा सरसफाइ अभियान विस्तार भयो र शर्मा नेपाली समाजमा सरसफाइ अभियन्ताका रूपमा परिचित बने।
यसपटक भने उनको देशप्रेम अभियान सडक र सरसफाइमा मात्रै सीमित रहेन, विचार र चिन्तनको रूप लिएर पुस्तकमार्फत सार्वजनिक भएको छ। राष्ट्र निर्माणको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यसहित शर्माले विभिन्न मन्त्रालय र राष्ट्रिय विकासका विषय समेटेर २४ वटा फरक शीर्षकका डिजिटल पुस्तक एकैपटक सार्वजनिक गर्दै विश्व कीर्तिमान कायम गरेका छन्।
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले उनलाई विश्व कीर्तिमानको प्रमाणपत्र, ट्रफी र पदक प्रदान गरेका हुन्। एउटै लेखकले राष्ट्र निर्माण केन्द्रित फरक-फरक विषयमा एकैपटक यति धेरै पुस्तक प्रकाशन गर्नु आफैंमा ऐतिहासिक उपलब्धि मानिएको छ।
छ लाखभन्दा बढी शब्दमा फैलिएका ती पुस्तकहरूमा रक्षा, अर्थ, शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि, श्रम, उद्योगदेखि सुशासनसम्मका विषय समेटिएका छन्। शर्माका अनुसार देश बनाउने सोच, नीति र दृष्टिकोणको खाँचो अहिले सबैभन्दा बढी छ, र यही अभाव पूरा गर्ने उद्देश्यले उनले रातभर जाग्राम बसेर यी पुस्तक तयार गरेका हुन्।
सरसफाइबाट समाजलाई जागरूक बनाएका शर्मा अब विचारमार्फत राष्ट्रलाई समृद्धिको बाटो देखाउने यात्रामा छन्। उनको यो प्रयासले एउटा सन्देश दिएको छ-देशप्रेम केवल भावना होइन, काम र दृष्टिकोणबाट प्रमाणित हुने जिम्मेवारी हो।