दशैँको टीका सकिएसँगै काठमाडौं उपत्यकामा सवारी चाप बढ्यो

  • Clock icon
    २०८३ कार्तिक ६, बिहीबार

मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ ।

बडादशैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा बुधबार टीकाको शुभसाइतपछि सडकमा सवारी साधन बढेका छन् । सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ ।

अहिले उपत्यका भित्रिने प्रमुख नाकासहित काठमाडौं, भक्तपुर र ललितपुरका मुख्य सडकमा सवारी साधन सामान्य अवस्थामा सञ्चालनमा आइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

‘टीकाका दिन आज आफन्तकामा आउने–जाने मानिसको संख्या उल्लेख्य रूपमा बढ्दा गत दुई–तीन दिनको तुलनामा उपत्यकाका सडकमा सवारी साधन बाक्लो देखिएको छ’, उनले भने ।

ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन योजनाबद्धरुपमा ट्राफिक प्रहरी परिचालन गरिएको उनको भनाइ छ । ट्राफिक प्रहरीले सम्भावित क्षेत्रमा निगरानी र ट्राफिक नियम पालना गराउन नियमित जाँच गरिरहेका छन् ।

दशैँ मनाउन गाउँघर पुगेका सर्वसाधारण आफ्नो पेसा व्यवसायका सिलसिलामा पुन: काठमाडौं फर्कने क्रम पनि शुरू भएको छ ।

नेपाल प्रहरीसँगको समन्वयमा यात्रु सुरक्षाका लागि सवारी साधनको यान्त्रिक परीक्षण, तीव्र गति, चालकले मादक पदार्थ र लागूऔषध सेवन गरे, नगरेको परीक्षणलगायतलाई निरन्तरता दिइएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।

ट्राफिक प्रहरीको सक्रियताका कारण सडक दुर्घटना र मानवीय क्षति न्यूनीकरण भएको उनको भनाइ छ ।

अब दशैँ मानेर काठमाडौं फर्कने यात्रुको चाप बढ्ने हुँदा प्रमुख नाका र राजमार्गमा सोही अनुसारको व्यवस्थापन गरिने प्रहरीले जनाएको छ ।

दशैँका अवसरमा काठमाडौं उपत्यकाबाट करिब दश लाख नागरिक बाहिरिएको सुरक्षा निकायको अनुमान छ ।