विकास बैंकमा नाफाको उकालो

काठमाडौं । मुलुकको समग्र अर्थतन्त्रमा केही शिथिलता देखिए पनि राष्ट्रियस्तरका विकास बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार प्रस्तुत गरेका छन्। सञ्चालनमा रहेका ८ राष्ट्रियस्तरका विकास बैंकहरूको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरूको समग्र खुद नाफा उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ।

उक्त अवधिमा विकास बैंकहरूको कुल खुद नाफा ४९ दशमलव ०४ प्रतिशतले बढेर ५ अर्ब ५० करोड ३५ लाख ७६ हजार २ सय ३९ रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले ३ अर्ब ६९ करोड २७ लाख ९५ हजार ४ सय ५९ रुपैयाँ मात्र नाफा आर्जन गरेका थिए।

बैंकहरूले सार्वजनिक गरेको विवरणअनुसार खराब कर्जा असुलीमा सुधार हुनु र सञ्चालन आम्दानी बढ्नुले समग्र बैंकिङ क्षेत्र दबाबमा रहेकै अवस्थामा पनि विकास बैंकहरूलाई नाफा बढाउन सहयोग पुगेको हो।

नाफा कमाउने प्रतिस्पर्धामा गरिमा विकास बैंक अग्रस्थानमा देखिएको छ। बैंकले १ अर्ब ४ करोड ८२ लाख ३९ हजार २३ रुपैयाँ खुद नाफा कमाउँदै ‘अर्बपति क्लब’मा आफ्नो स्थान कायम राखेको छ। गरिमाको नाफा गत वर्षको तुलनामा ४२ दशमलव ९१ प्रतिशतले बढेको हो।

दोस्रो स्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ, जसले ९४ करोड २६ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ७८ करोड ८४ लाख ४ हजार ४ सय ७६ रुपैयाँसहित तेस्रो स्थानमा रहँदा ज्योति विकास बैंक ६२ करोड ९४ लाख ६२ हजार ३ सय ९९ रुपैयाँसहित चौथो स्थानमा पुगेको छ।

त्यसैगरी, कामना सेवा विकास बैंकले ५८ करोड ८६ लाख ९८ हजार ७ सय २१ रुपैयाँ र लुम्बिनी विकास बैंकले ५६ करोड १६ लाख ८३ हजार ३ सय ७९ रुपैयाँ नाफा कमाएका छन्। सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४८ करोड ४५ लाख ३९ हजार ८९ रुपैयाँ रहेको छ भने महालक्ष्मी विकास बैंकले ४५ करोड ९९ लाख ६४ हजार ९ सय ५२ रुपैयाँ नाफा आर्जन गरेको छ।

नाफा वृद्धिको प्रतिशतका आधारमा लुम्बिनी विकास बैंक सबैभन्दा अगाडि देखिएको छ। गत वर्ष चैतसम्म ४ करोड ९७ लाख ८३ हजार ५ सय ६९ रुपैयाँ मात्र नाफा कमाएको बैंकले यस वर्ष १०२८ दशमलव २५ प्रतिशतको चमत्कारिक वृद्धि गर्दै ५६ करोडभन्दा बढी नाफा पुर्‍याएको छ, जुन विकास बैंकहरूमध्ये सबैभन्दा उच्च वृद्धिदर हो।

ज्योति विकास बैंकले पनि उल्लेखनीय सुधार गर्दै आफ्नो नाफा १०५ दशमलव ३ प्रतिशतले बढाएर ३० करोड ६६ लाखबाट ६२ करोड ९४ लाख रुपैयाँ पुर्‍याएको छ। यसैगरी, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५३ दशमलव ३८ प्रतिशत, गरिमा विकास बैंकले ४२ दशमलव ९१ प्रतिशत र मुक्तिनाथ विकास बैंकले ३० दशमलव ०४ प्रतिशत नाफा वृद्धि गरेका छन्। महालक्ष्मी विकास बैंकको वृद्धिदर भने ५ दशमलव ३६ प्रतिशत रहेको छ, जुन सबैभन्दा कम हो।

समग्रमा, खराब कर्जा व्यवस्थापनमा सुधार, व्यवसाय विस्तारमा सन्तुलन तथा सञ्चालन आम्दानीमा वृद्धि जस्ता पक्षहरूले विकास बैंकहरूको वित्तीय अवस्था मजबुत बन्दै गएको देखिएको छ। यसले लगानीकर्ताहरूमा विश्वास र उत्साह थप्ने संकेत गरेको छ।